प्रतिष्ठान संगीताको की जनताको ?

असार १, २०७७

जनतालाई संकट पर्दा ढोका वन्द हुने प्रतिष्ठान जनताको हो की, संगीता भण्डारीको ? जवाफ सर्वत्र खोजिएको छ ।

विभिन्न समयमा अनेक कारणले विवादमा आउने राप्ती स्वास्थ्य प्रतिष्ठानको ‘छवी’ यो संकटको घडीमा फेरी पुनर्जागृत भएको छ । कोभिड १९ को संकटको घडीमा जिम्मेवार संस्थाहरुले जनताप्रतिको जिम्मेवारी वहन गर्नुपर्ने बेला प्रतिष्ठानले अनेक बखेडा झिकेर स्वाब परिक्षण ल्याब वन्द गरेको छ । निजी क्लिनिक जस्तो पैसा तोकेर स्वाब परिक्षण गर्ने भएपछि स्थानीय तह वैकल्पिक बाटो खोज्न बाँध्य भएका छन् ।

घरैनेरको ल्याबमा ताला लागेपछि यहाँका स्थानीय सरकारहरु नेपालगञ्ज, भैरहवा र काठमाडौको ल्यावमा जान वाध्य भएका छन् । जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले गैरजिम्मेवार निर्णय गरेर यो संकटको घडीमा सम्पर्कविहिन रहनु कानुनी रुपमा समेत गैरकानुनी काम हो ।


प्रतिष्ठानमा ल्याब सञ्चालनका लागि संघ र प्रदेश सरकारले करोड वढि सहयोग गरिसकेका छन् । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन समितिले थप रकम आवश्यक भन्दै दुवै तहका सरकारमा पैसा माग गरेर पठाएको छ । यस्तो अवस्थामा कोरोनाको सबैखाले भार खेपिरहेका स्थानीय तहहरुलाई विल काटेर अहिलेसम्म भएका परिक्षणको पैसा माग्नु कुन कानुनले जायज ठान्छ ? संघ र प्रदेशले गरेको लगानी कहाँ गयो ? अझ त्यसमा प्रतिष्ठानलाई अन्य सरकारी निकायले समेत सहयोग गरिसकेका छन् ।

सरकारसँग यदि ताकत छ भने डा.भण्डारीलाई संक्रामक रोग विरुद्धकाे कानुन लगाएर कारबाही गर्नुपर्ने हुन्छ ।


कुनै पनि संस्थालाई संकटको अवस्थाबाट कसरी अगाडि वढाउने भन्ने कुरा संस्थाको नेतृत्वकर्तामा हुन्छ । प्रतिष्ठानको उपकुलपती भएका कारण यसको सबै जिम्मेवारी डा. संगीता भण्डारी मै जान्छ । तर संकट समाधान समितिको बैठकमा स्थानीय तहले प्रक्रिया पुरा गरेर मात्रै प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने भनेपछि उनले बुधवारबाटै स्वाबको ढोका वन्द गरेकी छिन् ।

उनको पहिलो निशानामा तुलसीपुर उपमहानगरपालिका नै परेको छ, जहाँ उनले २५ लाख माग गरेर पत्र पठाएकी थिइन् । स्वाब परिक्षणमा शुल्क लिने गैरकानुनी निर्णय गरेर उनी आरामले निदाइरहेकी छिन् । यस्तो संकटको घडीमा कुनै बिमती भए संवादबाट अगाडी वढ्न सकिन्छ तर संवादशुन्य वनाएर नेतृत्वकर्ता बाँसुरी वजाउन जाँनु कहासम्मको गैरजिम्मेवारपना हो ।
सरकारसँग यदि ताकत छ भने डा.भण्डारीलाई संक्रामक रोग विरुद्धकाे कानुन लगाएर कारबाही गरेर देखाउन सक्नुपर्दछ ।


यस्तो संकटको घडीमा स्वाब परिक्षणका लागि सरकारी निकायलाई क्याल्कुलेटर दबाएर वस्ने अधिकार कस्ले दियो ? यो सबैका लागि चुनौतिको विषय हो । बजारमा हिडिरहेको मान्छेमा कोरोना देखिएको छ । तत्काल त्यसको स्वाब परिक्षण हुन सकेन भने विकराल अवस्था सृजना हुन सक्छ । सेकेण्ड सेकेण्डको महत्व हुने यो बेला स्वाब परिक्षण गर्दैन भनेर कुनै साहुजीले दोकान वन्द गरेर जसरी प्रतिष्ठानको ल्याब वन्द गर्न मिल्दैन ।

प्रतिष्ठानमा पैसाको नै अभावका कारण परिक्षण हुन नसकेको हो भने सबैले सहयो गर्नुपर्दछ तर त्यसका लागि हठ पालेर होइन प्रतिष्ठानको नेतृत्व गर्नेहरु सहकार्य र संंवादमा अगाडी वढ्नुपर्दछ । संकटको घडीमा काम गर्न नसक्ने नेतृत्व पूर्णत असफल नेतृत्व हो । यस्तो नेतृत्वले प्रतिष्ठान वनाउने होइन बिगार्ने गर्दछ ।

प्रतिष्ठान हाम्रो हो , संगीता भण्डारीको होइन । कुनै पनि संस्थालाई नीति र सिद्धान्तले निर्देश गर्नुपर्दछ तर प्रतिष्ठानलाई संगीताको मुड र अहमले निर्देश गरिरहेको छ ।प्रतिष्ठानको ल्याबको वन्द ताला खोल्ने ल्याकत यहाँका जनप्रतिनिधि र सरोकारवालाले राख्न जरुरी छ । जनतालाई संकट पर्दा ढोका बन्द हुने प्रतिष्ठान जनताको हो की, संगीता भण्डारीको ? जवाफ सर्वत्र खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस