नेकपाकाे एक स्वर, प्रधानमन्त्री ओलीकाे राजीनामा

असार १६, २०७७

काठमाडौँ – नेकपाभित्रको आन्तरिक कलह थप जटिल मोडमा पुगेको छ। पार्टी एकताले पूर्णता पाइनसक्दै आन्तरिक संघर्षबाट गुज्रदै आएको नेकपा मंगलबारको स्थायी समिति बैठकपछि झन संकटमा धकेलिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेताहरुले मंगलबारको स्थायी समिति बैठकमा एक स्वरमा राजीनामा मागेका छन्। आइतबार मात्रै आफूलाई पदबाट हटाउन नसक्ने अभिव्यक्ति दिएका ओलीलाई दुई दिनमै स्थायी समिति सदस्यहरुले राजीनामा दिन माग गरेपछि नेकपाभित्रको संघर्ष झन पेचिलो स्थितिमा पुगेको हो।

आइतबार जननेता मदन भण्डारीको ६९औं जन्म दिनका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘आफूलाई पदबाट हटाउन पार्टी भित्र र भारत लागि परेको’ बताएको विषय मंगलबारको स्थायी समिति बैठकको मुख्य एजेण्डा बनेको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार कोभिड–१९ बारे छलफल हुने भनिए पनि प्रधानमन्त्रीको अभिव्यक्तिमै बैठक केन्द्रित भएको जानकारी दिए। बैठकमा नेकपा एमाले नामको दल पुन: दर्ता गर्न निर्वाचन आयोगमा परेको निवेदनबारे पनि गम्भीर रुपमा कुरा उठेको श्रेष्ठले बताए।

मंगलबार स्थायी समिति बैठकमा बोलेका १८ मध्ये १२ जना स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीसँग राजीनामा माग गरेका छन्।

एक स्थायी समिति सदस्यले भने, ‘गैर जिम्मेवार अभिव्यक्ति र सरकारको कामकारबाहीसमेत प्रभावकारी नभएको भन्दै बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको सत्य हो।’

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्यहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तसहितका नेताहरुले एक स्वरमा राजीनामा मागेका हुन्।

मंगलबार प्रधानमन्त्री निवासमा बसेको नेकपा स्थायी समिति बैठक।

बैठकमा अध्यक्ष प्रचण्डले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्नुअघि पनि आफूले राजीनामा मागेको उल्लेख गर्दै पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्ने बताउँदै ओलीसँग राजीनामा मागेका थिए।

दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नक्सा सार्वजनिक गर्नुअघि वैशाख १७ गते पनि मैंले तपाईंको राजीनामा मागेको थिएँ। राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईँले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न।’

दाहालले प्रधानमन्त्रीलाई पदमा कायम राख्ने वा हटाउने काम पार्टीभित्रैबाट हुने बताउँदै बाह्य पक्षलाई जोडेर अरु नेताहरुलाई आरोप नलगाउन र भारतविरुद्ध जथाभावी बोलेर पार्टीको प्रतिष्ठा नगिराउन सुझाव दिएका थिए।

‘भारतविरुद्ध बोलेर तपाईँले पार्टीको प्रतिष्ठा गिराउनु भो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बनध सन्तुलित पार्न सकिँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै अर्का एक स्थायी समिति सदस्यले भने।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी अध्यक्ष र प्रधामन्त्री जस्तो पदमा बसेर जथाभावी बोलेको भन्दै राजीनमा मागे। पार्टी कुनै एक नेताको हैकमबाट नचल्ने भएकाले आम कार्यकर्ताको भावनाअनुसार अघि बढ्नुपर्ने बताएका थिए।

बैठकमा नेता माधवकुमार नेपालले पनि आफूले जहिले पनि पार्टी विधि र प्रक्रियाबाट चल्चुनपर्ने कुरामा जोड दिँदै आएको बताए। उनले भने, ‘पार्टी विधिबाट चल्नुपर्छ। स्वइच्छाचारी रुपमा अघि बढ्न सक्दैन। जिम्मेवार पदमा बसेर जथाभावी बोल्ने छुट कसैलाई पनि छैन। पार्टी एक व्यक्ति एक पदअनुसार चल्नुपर्छ। अब राजीनामा दिनुहोस्।’

त्यस्तै उपाध्यक्ष गौतमले निर्वाचन आयोगमा नेकपा एमाले पुनः दर्ता गर्न निवेदन दिन काम प्रधानमन्त्रीकै निर्देशनमा भएको आरोप लगाए। उनले अब ओली पदमा बसिरहनुको औचित्य सकिएको भन्दै राजीनामा मागेको स्रोतले जानकारी बतायो।

गौतमले बैठकमा भने, ‘एमाले दल दर्ता प्रधानमन्त्रीकै निर्देशन भएको भन्ने कुरामा म विश्वस्त छु। अहिले यस्तो काम गर्ने बेला होइन।’ निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि सन्ध्या तिवारीको नेतृत्वमा निवेदन परेको छ।

जवाफमा प्रधानमन्त्रीले आइतबार आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। नक्सा सार्वजनिक र संविधान संशोधनपछि सरकार ढाल्ने चलखेल भइरहेकाले आफूले प्रष्ट पार्न अभिव्यक्ति दिएको बताएका थिए।

पाँच शीर्ष नेताहरु बोल्ने अवधिसम्म बैठकमा बसेका ओली नेताहरुले राजीनामा माग्दै आलोचना गरेपछि आक्रोशित भएका थिए।

ओलीको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘दिल्लीका मिडियामा आएका समाचार र भइरहेको गतिविधि कसरी हुबहु मिलिरहेको छ। बैठक कुराहरु जस्ताको त्यस्तै आइरहेका छन्। तपाईंहरु मेरोविरुद्धमा तयारी गरेर आउनुभएको रहेछ। त्यसैले त एउटै भाषामा राजीनामा मागि रहनुभएको छ।’

मंगलबारको बैठक पछि नेकपाभित्रका तीनवटै गुट भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेका छन्।

फेरि वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन

बैठकमा ओलीले उपाध्यक्ष गौतमलाई प्रधाममन्नी बनाउने लोभ मंगलबार पनि देखाएको स्रोतले बतायो। अध्यक्ष दाहाल र वरिष्ठ नेताहरु खनाल र नेपाल आफूविरुद्ध एकपछि अर्को गर्दै खनिन थालेपछि ओलीले गौतमलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका थिए।

गौतम निकट स्रोतले भने, ‘आज पनि तपाईंलाई प्रधानमन्त्री बनाउँछु मिलेर जाउँ भन्नुभयो।’ जवाफमा गौतमले आफूलाई प्रधानमन्त्रीको लोभ नभएको बताएको स्रोतले जानकारी दियो। लगत्तै बैठकमा औपचारिक रुपमा बोल्दै गौतमले ओलीले राजीनामा दिनुपर्ने बताएका थिए।

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि बोलेका थिए।

बैठक बुधबार पनि बिहान ११ बजे बस्ने नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस