राप्ती आँखा अस्पतालमा आधुनिक मेसिन

असार १४, २०७७

तुलसीपुर, १३ असार । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले आधुनिक मेसिन खरिद गरेको जनाएको छ । लकडाउनको समयमा पनि विभिन्न प्रक्रिया पूरा गरी जापानी प्रविधिमा निर्माण भएको फेको एमुल्सी फिकेशन मेसिन अस्पतालले ल्याएको हो ।

आँखा अस्पतालहरुको सेवा सवलीकरण तथा सहजीकरणको लागि चिकित्सकीय औजार उपकरण खरिद गर्न प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयबाट प्रदान गरिने पुँजीगत अनुदान र राप्ती आँखा अस्पतालको लागत सहभागितामा सो मेसिन खरिद गरिएको हो । स्वास्थ्य निर्देशनालयको पुँजीगत अनुदान ३० लाख र अस्पतालको २० प्रतिशत लागत सहभागितामा फेको एमुल्सी फिकेशन मेसिन खरिद गरेको अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिएका छन् । प्रदेश सरकरले राप्ती आँखा अस्पताललाई ३० लाख, लमही आँखा अस्पताललाई २० र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलाई २० लाख पुँजीगत अनुदान दिएको थियो ।

यसैबीच राप्ती आँखा अस्पतालमा मेसिन खरिद कार्य सम्पन्न भएसँगै शनिवार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले यस क्षेत्रमा अन्धोपन निवारणमा खेलेका भूमिका अतुलनीय भएको बताएका थिए ।

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले यस अघि पनि फेको प्रविधिबाट अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया भएको भन्दै नयाँ मेसिन आएसँगै सेवामा सहजता थपिएको बताइन् । उनले अब कोही विरामी पनि मेसिनको प्राविधिक समस्याका कारण सेवाबाट वञ्चित हुनु नपर्ने बताइन् । उनले यो मेसिन आएसँगै छिप्पिएको मोतियाविन्दुको पनि सहज रुपले शल्यक्रिया हुने बताइन् । मेसिन औजार थप भएसँगै आफूहरु पनि उत्साहित भएको बताइन् । ‘हामीलाई व्याकप भएको छ, अब एउटा मेसिन बिग्रियो भने विरामीलाई सल्यक्रिया नगरेर घर पठाउनुपर्ने अवस्था हुँदैन’–उनले भनिन् ।

कार्यक्रममा उपप्रमुख माया शर्माले तुलसीपुर उपमहानगरपालिकाले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको सहकार्यमा उज्यालो तुलसीपुर अभियान थालेको बताइन् । उनले यस क्षेत्रको गहनाको रुपमा रहेको आँखा अस्पतालको विकासका लागि सबै किसिमका सहयोग आफूहरुबाट मिल्ने बताइन् । ‘आँखा अस्पतालको विकासका लागि हाम्रो सहयोग निरन्तर रहने छ, हिजो पनि थियो, आज पनि हुने छ’–उनले भनिन् । उनले यस क्षेत्रको नमुनायोग्य अस्पताल बनाउनमा उपमहानगरपालिकाले सहयोग गर्ने बताइन् । ‘अस्पतालले दिने सेवादेखि सबै गतिविधिहरु पारदर्शी रुपमा अगाडि बढेका छन्, यसमा सबैले गर्व गर्नुपर्छ’–उनले भनिन् ।


कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न आफूहरु लागेको बताए । उनले आँखा अस्पतालहरुलाई भौतिक साधान स्रोतयुक्त बनाउन आफूहरु लागेको बताए । ‘हामी अस्पतालको विकासमा निरन्तर लागेका छौँ, यसमा साथ सहयोग सबैको छ’–उनले भने । अध्यक्ष गिरीले अस्पतालको विकासमा सहयोग गर्ने प्रदेश, स्थानीय सरकारलगायत सबैलाई धन्यवाद दिए । उनले लकडाउनको कठिन परिस्थितिमा पनि मेसिन खरिद गर्न सफल भएको सुनाए । सो अवसरमा वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले अस्पतालले मेसिन खरिदको प्रक्रियाको बारेमा सबैलाई जानकारी गराएका थिए । कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का, सचिव एवं खरिद गुणस्तर समितिका संयोजक सुरेन्द्र खड्का, संघका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सहसचिव चिरञ्जीवी रिजाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस