दोषी म

असार १३, २०७७

जिन्दगीले सिकाएको जिन्दगी परिभाषा भित्र रहेको जिन्दगी भन्दा धेरै गुणा पृथक हुन्छ।  मेरा भोगाईहरुले कसैलाई रिस उठ्न सक्छ, कसैलाई उदेक लाग्न सक्छ, कसैलाई दिक्क लाग्न सक्छ भने कसैलाई ठिक्क पनि लाग्न सक्छ किनकि यो नितान्त  ब्यक्तिगत  जिन्दगीको ब्यक्तिगत बुझाई हो।

आत्मसम्मानको अनुभुती गर्नुपर्छ, समाजलाई बदल्नुपर्छ , सभ्य र सु – संस्कृत समाजको निर्माण गर्ने अभिभारा बोकेको मान्छे हामी भन्दै सम्पुर्ण सहकर्मीहरुलाई हौसाउने मान्छे आज धरहरा ढले झै गर्ल्याम्म ढलेको छ। संसारलाई अनादि कालदेखि हेर्ने हो भने कुनै न कुनै रुपमा शिक्षालय र शिक्षकहरुको आवश्यकता मानिसहरुलाई मात्र परेको देखिन्छ। आफ्नो सभ्यता, धर्म, गुण अनि दायित्व सिकाउनलाई भए पनि कुनै न कुनै रुपमा शिक्षालय खडा गर्नु परेको गुरुकुल शिक्षा प्रणाली हुँदै आजको अत्याधुनिक बिद्यालयहरु स्थापनाले छर्लङ्ग देखाउछ्न।

हिजोका विद्यार्थीहरुलाई शिष्य र शिक्षकहरुलाई गुरु भनिरहदा आज परिभाषा बदलिएको छ।

उदाहरणको निमित्त एउटा तीन महिने कुकुरको छाउरोलाई पोखरीमा फ्यालिदिने हो भने उ जसो तसो पौडिएर आफ्नो ज्यान बचाउछ तर एउटा मानव शिशुलाई त्यही पोखरीमा फ्याँलियो  भने उ त्यही डुबेर मर्दछ। त्यही कुकुरको छाउरोले के खाने के नखाने जन्मजात सिकेको हुन्छ तर मानिसको बच्चालाई सिकाउनुपर्ने हुन्छ। यसर्थ गुरुकुल शिक्षादेखि आधुनिक शिक्षा प्रणालीसम्मको इतिहास हेर्ने हो भने मानिसहरु गुरुहरुको ज्ञान अछुतो रहन सक्दैन ।

बिद्यालयको प्रवेशद्वार नकुल्चे पनि, साधारण लेखपढ गर्न नसके पनि उनीहरुलाई गुरुहरुको आशीर्वादले सिञ्चित गरेको हुन्छ। मेरो बुझाईमा गुरुका अनेक रुपहरु हुने गर्दछन् । जस्तै आमा, बुवा, धर्ति, आकाश, वन जङ्गल, हावा पानी अनि हात समाएर विविध वर्णहरुको यात्रा गराउदै विश्व परिवेश चिनाउने सारथी ।

हिजोका विद्यार्थीहरुलाई शिष्य र शिक्षकहरुलाई गुरु भनिरहदा आज परिभाषा बदलिएको छ। सायद गुरु र चेला बिचको सम्बन्धलाई महत्वहिन ठानेर हो कि अथवा विद्यार्थी र शिक्षकहरुको नातालाई यान्त्रिक सम्झेर हो। बिद्यालयको प्रवेशद्वारमा मेरा नानीहरुको कानमा गुन्जाएमान हुने नानू खाजा खाइस्यो ; अनि भनिस्यो त आज हजुरको हरि सरले के पढायो; रिता म्यामले के भनि ? जस्ता वाक्यांशहरुले  बिथोलिने मेरो  मगज , पट्ट्यारियर सुनिरहने मेरा कान, बेग बेगले रक्तसञ्चार गरिरहने मेरो मुटुहरुले आज मलाई गिज्याई रहेकाछन।

ल छोरी राम्रो सङ्ग लेखिस्यो भनी टाउको सुम्सुमाउदा यौन दुर्व्यवहार गरेको आरोपमा  जागीर छोड्नु पर्दा आफ्नो बचाउमा एक शब्द बोल्न नसक्ने मेरो जिब्रो; तिम्रो गृहकार्य समयमा बुझाउ भन्दा मेरो सन्तानलाई गाली अनि सजाए दिलाउन बिद्यालय पठाएको हो भनी तमासा गर्दा चुपचाप बस्ने मेरा ओठहरु; उनीहरुलाई घरमा मोबाईल , ल्यापटप , ट्याबलेट आदि  प्रयोग गर्न रोक्न नसक्ने मेरा निरीह शब्दहरु मौन बनेर म सङ्ग टाढिएर वार्तालाप नगरेको  पनि बर्षौ भैसक्यो।

उनीहरुको भबिस्यप्रतिको बिमुखताले चिन्तित हुने, उनीहरुका हरेक कमिकम्जोरी सच्याउने जमर्को गर्ने म कसरी निर्दोषी हुन सक्छु।

बिभिन्न ल्याकत परीक्षामा उनीहरुको प्राप्ताङ्क बढाउन नसक्ने मेरा हातहरु, उनीहरुलाई बिद्यालयको प्रवेशद्वारमा उभिएर अभिवादन गर्दै स्वागत र बिदाई गर्नमा मात्र सिमित भैसके। मलाई सजिव हुँ वा निर्जिव भनेर आभास दिलाउने मेरा अर्जुनहरुको समीप जादा भिमकाय उद्देश्य लिएर ठिङ्ग उभिने मेरा खुट्टाहरु लर्बराएर गन्तव्य भुलिसके।

सम्पूर्ण अभिभावकहरुलाई उहाँहरूको नानीहरूको उज्ज्वल र सफल भबिस्यको लागि बेला बेलामा झकझकाउने मेरा वाक्यांशहरुले उहाँहरूलाई चिड्याउने पो रहेछन। तब त आफ्ना नानीहरूसङ्ग मेरो हैसियतको कुरा गर्नु हुदोरहेछ। जीवनमा निर्बिकल्प भएर शिक्षण पेशामा आएको दावी गर्नु हुदोरहेछ। उहाँले तिरेको शुल्कले मात्र मेरो श्वास चलेको फुर्ती लगाउनु हुदोरहेछ ।

अब यस्तो अवस्थामा हुर्केका मेरा विद्यार्थीहरुमा शिष्ट, सभ्य, अनुशासित र ब्रम्ह ज्ञानले भरिपुर्ण शिष्यको गुण खोज्नु मेरो जघन्य भुल भयो। मेरो वास्तविक नाम र परिचय एउटा हुदा हुँदै सयौं नाम र परिचयले विद्यार्थीमाझ परिचित म आफ्नो बास्तबिक परिचयलाई भुल्नुलाई स्वभाविक लाग्न थालिसक्यो। घरभन्दा ठुलो बिश्वबिद्धालय, आमा बुवा भन्दा ठुला गुरुहरु, गाउँ, समाज, समय परिस्थिति र चिन्तन  भन्दा ठूलो पुस्तकालय, हर बखतमा प्रयोगहुने शब्द शब्द र वाक्यांशहरुले    निर्मित शब्दकोष भन्दा ठुला ग्रन्थहरु नदेखेको र नमान्ने  म कसरी पुज्य दोषरहित मानव बन्न सक्छु।

मानवता , सहिष्णुता, बिश्वबन्धुत्व, स्वाभिमानी अनि राष्ट्रियताको पाठ सिकाउन खोज्ने म कसरी आजको युग सुहाउँदो शिक्षक बन्न सक्छु। उनीहरुले बोलेका अपाच्य शब्दहरु सुन्ने, उनीहरुका उद्द्ण्ड  एव अमर्यादित कार्यकलाप देख्ने, उनीहरुको भबिस्यप्रतिको बिमुखताले चिन्तित हुने, उनीहरुका हरेक कमिकम्जोरी सच्याउने जमर्को गर्ने म कसरी निर्दोषी हुन सक्छु।

राज्यको यथार्थता नबुझेको नीति निर्माता, राज्यलाई कुन पद्धतिमा लाने थाहा नभएको शासक अनि भौतिक सुख आर्जन गर्न कसैको वास्ता नगर्ने भ्रष्ट जस्तै बन्न सकेको भए म किन्चित दोषी हुने थिएन।  तर अफसोस मेरा कान, आँखा, हात, खुट्टा, जिब्रो, मस्तिष्क, मुटु र मैले  सिकेका हरेक  ज्ञानले मलाई दोषी बन्न हरपल घच्घच्याई रहे, प्रेरित गरिरहे, र म पनि दोषी बन्न सधै लालायित बनिरहे। मानवीय गुणबाट बिमुख हुन नसकेको म, मन भित्र उठाइएका प्रश्नहरुले उब्जाएको द्वन्द्वमा गल्नै लागेको बेला परिस्थिति भन्दा थोरै माथी उठेर चिन्तन गर्नु नै मेरो बास्तबिक ज्ञान सम्झे।

आफ्नो कर्तव्य, जिम्मेवारी, भुमिका अनि पेशा प्रतिको प्यासले हुटहुटी भएर सुर्य जत्तिकै तेजिलो र रापिलो बनेको छु।

अनि दोषै दोषले उठाइएको अजङ्गको पहाडले थिचिएर पनि फिटिक्कै हतास हुन पुगेन। पेशा प्रतिको समर्पण, कर्तव्यबोधको उमङ्ग, जिम्मेवारी बहनको उत्साह र कर्म प्रतिको लगावले आज फुरुङ्ग भएर निरन्तर दोषै दोषबाट पुरस्कृत हुन अठोट गरेको छु।

आफ्नो लागि एउटै अर्जुन नजन्माए पनि उनीहरुलाई अर्जुन मानेर हरपल उनीहरुको सारथी बनेकोमा गर्व महसुस गर्द्छु। निस्वार्थ सारथी बनेर होला उपेक्षाका सम्पुर्ण पर्खालहरु भत्किएको देख्द्छु। दोषका सबै समुद्रहरु सुकेको पाउदछु। मरुभूमिमा लह लह बाली झुलेको हेर्दछु। आफ्नो कर्तव्य, जिम्मेवारी, भुमिका अनि पेशा प्रतिको प्यासले हुटहुटी भएर सुर्य जत्तिकै तेजिलो र रापिलो बनेको छु।

प्रतिक्रिया दिनुहोस