नेपालमै सुरू भयो एन–९५ र केएन–९५ मास्क उत्पादन

असार १२, २०७७

काठमाडौं। शतप्रतिशत स्वदेशी लगानीमा स्थापना भएको जगदम्बा मास्क उद्योगले एन–९५ र केएन–९५ मास्क उत्पादन सुरू गरेको छ। २० करोड रुपैयाँको लगानीमा जगदम्बा समूहले रुपन्देहीमा स्थापना गरेको उद्योगले परीक्षण उत्पादन सकेर व्यवसायीक रुपमै मास्कको उत्पादन थालेको हो।

एन–९५ मास्क सबैप्रकारका भाइरबाट बच्नका लागि सबैभन्दा सुरक्षित मानिन्छ।

सिमेन्ट र फलामे छड जस्ता निर्माणजन्य उद्योगमा लगानी गरेको जगदम्बा समूहले मास्क उद्योगमा पनि हात हालेको हो। उद्योगले परीक्षण सकेर व्यवसायीक उत्पादन थालेको जगदम्बा मास्क उद्योगका सञ्चालक साहिल अग्रवालले बताए। उनले भने, “उद्योगले मास्क उत्पादन गर्न लागेको झण्डै १० दिन भइसक्यो। परीक्षण उत्पादन सकेर व्यवसायीक रुपमै उत्पादन थालेका हौं।”

जगदम्बा समूह एन–९५ मास्क उत्पादन गर्ने नेपालमै पहिलो हो। केही उद्योगहरुले केएन–९५ मास्क उत्पादन गरेपनि ठूलो परिमाणमा उत्पादन थालिसकेका छैनन्। विश्वव्यापी कोरोना भाइरसको संक्रमणपछि मास्कको माग बढ्दै जाँदा यो उद्योग स्थापना गरेको अग्रवालले बताए।

खासगरी, कोरोनाको संक्रमण देखिएपछि नेपालमा पनि मास्कको माग बढेको छ। यसअघि सर्जिकल र कपडा तथा केएन–९५ मास्क मात्र उत्पादन भइरहेको थियो।तर, एन–९५ भारत र चीन लगायतका मुलुकबाट आयात हुन्थ्यो। यसका साथै, केएन–९५ मास्क पनि नेपालमा ठूलो परिणामा उत्पादन भएको छैन।

रुपन्देहीमा खुलेको उद्योगले वार्षिक तीन करोड थान एन–९५ मास्क उत्पादन गर्ने छ। यस्तै, सोही परिमाणमा केएन–९५ मास्क उत्पादन गर्ने कम्पनीले बताएको छ।

उद्योगले वार्षिक पाँच करोड थान सर्जिकल मास्क उत्पादन गर्ने छ।

कम्पनीका सञ्चालक अग्रवालले चीनबाट ल्याइएको मेसिनरी हतार-हतार ल्याएर उत्पादन अगाडि बढाएको बताए। नयाँ मेसिन अर्डर गरेर ल्याउन समय लाग्ने भएपछि महंगै भएपनि तयारी अवस्थाको मेसिन नै मगाएको उनको भनाइ छ। उद्योगले २१ जनालाई प्रत्यक्ष रोजगारी दिने छ।

प्रतिक्रिया दिनुहोस