दाङ्गमा मृतक महिलामा कोरोना पुष्टि

असार १२, २०७७

दाङ– दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो।

उपचारकै क्रममा ती महिलाको मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो।

ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन। वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्र पन्थीले पिपिईसहितका स्वास्थ्य सामाग्रीको प्रयोग गरेर स्ट्रेचरमा राखेर अस्पताल पुर्‍याएका थिए।

अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने ती महिला केही दिनदेखि गुम्राह चोक आसपास मै मागेर खाने गरेको स्थानीयहरुले बताएका छन्। यसैबीच शव व्यवस्थापन गर्ने विषयमा घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन र नेपाली सेनाको बीच छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस