पाटन र पोखरामा उपचाररत २ जना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २६ पुग्यो

असार ११, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको निधन भएको हो। उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो।

मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा लगिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो। 

नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटनमा रेफर गरिएको थियो। पाटनमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११.३५ बजे निधन भएको हो।

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड-१९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस-२ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये हालसम्म २ हजार ६ सय ५० जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस