थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, २०७७

नेपालमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार २ सय ९७ वटा नमुनाको पिसीआर परीक्षण गरिएकोमा ९३ जनाको संक्रमण पुष्टि भएको हो। 

बाँकी २ सय ४ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ३६ पुगेको छ। 

आजै बिहानमात्रै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले म्याग्दीका ६ सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जानकारी पनि दिएको छ।

प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११.३५ बजे निधन भएको हो। 

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड-१९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस-२ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो।

कोभिड-१९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस