तुलसीपुरमा २ अरब ३४ करोडको बजेट प्रस्तुत

असार १०, २०७७

बजेट प्रस्तुत गर्न जाँदै उपप्रमुख माया शर्मा


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७७÷७८ का बजेट प्रस्तुत गरेको छ । उपप्रमुख माया शर्माले सातौ नगर सभाको दोस्रो बैठकमा २ अरब ३४ करोड, ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजन गरिएको बजेटमा पुँजिगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अरब ६८ करोड ४७ लाखको अनुमानित वजेट प्रस्तुत गरिएको जुन कुल बजेटको ७२ प्रतिशत रहेको छ यसैगरी चालुतर्फ अन्य कार्यक्रमहरु, प्रशासनीक र सञ्चालन खर्च समेत रु ६६ करोड २० लाख ६४ हजार अर्थात कुल बजेटको २८ प्रतिशत रकम रहेको छ ।

बजेटमा कोभिड १९ लाई लक्षित गरेर रोजगार सृजना गर्ने कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रममा बजेट केन्द्रीत रहेको छ । वजेटमा तुलसीपुर मेट्रो अस्पताल सञ्चालन, क्वारेन्टाइन , आइसोलेसन निर्माण, अत्यावश्यक सामग्री खरिद, उद्दार र यससँग सम्वन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वजेट व्यवस्था गर्ने उल्लेख गरिएको छ।

उज्यालो तुलसीपुर अभियान अन्तर्गत २ वर्ष भित्र तुलसीपुरलाई मोतिविन्दुमुक्त उपमहानगरका लािग कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिकाका विभिन्न टोलहरुलाई सुर्तिजन्य पदार्थ र मदिरामुक्त टोल घोषणा गर्नेलाई प्रोत्साहन स्वरुप वजेट व्यवस्था गरिएको छ ।

त्यस्तै शिक्षातर्फ एक वडा एक नमुना विद्यालय सञ्चालनका साथै शिक्षा व्यवस्थापनका लागि २ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै तुलसीपुरको पहिचानका रुपमा नगर पुस्तकालय स्थापनाका लागि १ करोड रकम विनियोजन गरिएको छ । निःशुल्क शिक्षाको सरकारी नीतिलाई मध्यनजर गरेर उपमहानगरपालिकाले २ देखि ५ सम्म कुनै पनि शुल्न नलाग्ने गरी बजेट विनियोजन गरिएको छ ।

बजेटमा विउँ उत्पादन,रैथाने बाली संरक्षण, घना शहरी क्षेत्रमा कौशी खेती, माटो सुधार कार्यक्रम, एक वडा एक कृषि फर्म लगायतका विभिन्न कृषि कार्यक्रमहरुलाई बजेटका प्राथमिकता दिइएको छ । बेरोजगारलाई रोजगार प्रदान गर्नका लागि श्रम बैकको सञ्चालन अगाडि वढाउने, एक घर एक रोजगारी सृजना गर्ने लगायतका कामलाई बजेटले समेटेको छ ।

प्रतिक्रिया दिनुहोस