प्युठानमा २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, दुई बस्ती सिल

असार ०, २०७७

प्युठानमा २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।  प्युठान नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत २ स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २ स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि भएको हो।

सुवेदीका अनुसार संक्रमित सबै प्युठान नगरपालिका २ र ३ का बासिन्दा हुन् भने उनीहरु सबै भारतबाट आएका थिए। त्यसैगरी,  सोमबार नै ४५ जना पुन थपिएका छन्। थपिएकामध्ये प्युठान नगरपालिकाका १८ जना,स्वर्गद्वारी नगरपालिकाका १२ जना, ऐरावति गाउँपालिकाका ८ जना, मल्लरानी गाउँपालिकाका ५  जना र नौबहिनी गाउँपालिकाका २ जना गरि ४५ जना थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अग्रस्थानमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई नै संक्रमण देखिन थालेपछि समुदायमा नै जोखिम बढ्न सक्ने खतरालाई मध्यनजर गरेर स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीसहित सबै कर्मचारीहरु  सोमबारदेखि नै आफूहरुको पिसीआर रिपोर्ट नआउँदासम्म अफिस क्वारेन्टाईनबाट नै सेवा प्रदान गर्ने निर्णय गरेको सुवेदीले जानकारी दिए।

उनले अग्रस्थानमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रयोगशालाकर्मी र एम्बुलेन्स चालकहरुले आफू सुरक्षित भएर सबैलाई सेवा दिन र सेवा सुचारु गर्न आग्रह गरे। उनले भने, ‘सार्वजनिक बिदाका दिनसमेत काम सुचारु गरेका छौं।’ आइसोलेसन  र क्वारेन्टाईन व्यवस्थापन, उपचार , कन्ट्याक्ट ट्रेसिङ र केश ईन्भेस्टिगेशनलाई तिव्रता दिईने सुवेदीले बताए।

 नगरपालिका कार्यालयसहित स्वास्थ्यसंस्था र दुई बस्ती सिल

प्युठान नगरपालिका क्षेत्रमा संक्रमितको संख्या अत्यधिक वृद्धि हुन थालेपछि एक हप्ताका लागि नगरपालिका कार्यालय,प्युठान नगरपालिका ३ मा रहेको सापडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को सेपुङ र वडा नं  २ को रिचि बस्तिलाई सिल गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिकाका अत्यावश्यकबाहेक अरु काम एक साताका लागि बन्द गर्ने, असारमा सञ्चालन गरिने खोप कार्यक्रम तथा गाउँघर क्लिनिक सेवा स्थगित गर्ने  निर्णय गरेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। कक्षपतिले निर्णयको प्रभावकारी कार्यान्वयन गर्न सबै नगरबासीलाई आग्रहसमेत गरेका छन्।

सोमबार साँझसम्म प्युठानमा कोरोना संक्रमितको संख्या  १६९  पुगेको स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस