सुदूरपश्चिमका प्रयोगशालाले धान्न नसकेपछि ४ हजार ४ सय स्वाब काठमाडौं पठाइयो

असार ०७, २०७७

सुदूरपश्चिमबाट कोरोना परीक्षणको लागि ४ हजार ४ सय वटा नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरूको स्वाब पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले जानकारी दिए।

प्रदेशमा रहेको प्रयोगशालाको क्षमताले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाको दैनिक क्षमता २५० छ। यसरी ४ हजार ४ सयको परीक्षण गर्न प्रयोगशालालाई १७ दिन लाग्छ। त्यसैले नमूना संकलन गरेर काठमाडौं पठाइएको हो।

यसअघि प्रदेशलले प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको भन्दै पाँच दिनको लागि नमूना संकलन कार्य नै बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि प्रयोगशालामा नमूनाको थुप्रो यथावत रहेपछि स्वाब संकलन कार्य सूचारू हुने अनिश्चित बनेको थियो। केही दिन यता भने फेरी नयाँ स्वाब संकलन सूचारू गरिएको डा अवस्थीले जनाए।

सुदूरपश्चिममा ५० हजार जना बढी मानिस भारतबाट आएर क्वारेन्टिनमा छन्। तीमध्ये सबैको पिसिआर परीक्षण हुन सकेको छैन। कतिलाई आरडिटी गर्दै घर पठाइएको छ। त्यसैले कसको पिसिआर गर्ने र कसकाे आरडिटी गर्ने भन्नेमा प्रदेश नै अलमल छ। स्वास्थ्य मन्त्रालयले टेस्टिङ सम्बन्धी नयाँ निर्देशिका जारी गरेपनि सो अनुसार परीक्षण हुन सकेको छैन।

निर्देशिका अनुसार क्वारेन्टिनमा रहेकाहरूमध्ये लक्षण देखिएकाको मात्र परीक्षण गर्ने अन्यथा आरडिटी गरेर घर पठाउन सकिने भनिएको छ।

प्रदेशले सुरुवाती देखि नै परीक्षणको अभाव झल्दै आएको छ। सुरुमै ५० हजार बढी मानिस भारतबाट आउँदा उनीहरूको कुनै परीक्षण भएन। तीमध्ये ५ हजारको मात्र नाकामा आरडिटी परीक्षण गरियो। पछि किट नै नभएपछि सबै मानिसलाई बिना परीक्षण आ आफ्नो जिल्लाको क्वारेन्टिन पठाइयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुदूरपश्चिमबाट चार हजार नमूना आइपुगेको जनाएको छ। अब ती नमूना परीक्षण गर्नका लागि उपत्यकामा भएका अन्य प्रयोगशालामा पनि पठाइने प्रयोगशालाका प्रवक्ता डा. राजेश गुप्ताले जानकारी दिए। अहिले प्रयोगशालाले दैनिक एक हजारदेखि १५ सय जना सम्मको परीक्षण गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयले आगामी असार १५ गतेबाट दैनिक १५ हजार जनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको छ। त्यसका लागि निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गर्ने मन्त्रालयले जनाएको छ। अहिले दैनिक ५ हजार जनाको परीक्षण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस