योग गरौ,स्वस्थ रहौ

असार ०७, २०७७

योगको सुरुवात ५०० – २०० वि.सीमा भएको मानिन्छ । योग शिक्षित पश्चिमी समाजमा १९औं शताब्दीको मध्यतिर आएको मानिन्छ र यसमा केहि भारतीय दर्शन पनि जोडिएको थियो भन्ने गरिन्छ । कतै योगको सुरुवात ५००० वर्ष अघि उत्तरी भारतको इन्दस, सरस्वति सभ्यतामा भएको पनि उल्लेख गरिएको छ । योग शब्द सबैभन्दा पहिले रिग्बेदमा उल्लेख भएको मानिन्छ । संस्कृत भाषाबाट आयातित योग भन्नाले एकता वा जोडिनु भन्ने बुझिन्छ । तसर्थ योगभनेको शरीर,मस्तिस्क र आत्माको संयोजन हो पनि भन्ने गरिन्छ ।

योगा चार मुख्य चरणमा विकाश र अभ्यास भएको देखिन्छ । पहिलो प्रि-क्लासिकल योगा,क्लासिकल योगा, पोस्ट-क्लासिकल योगा र मोर्डन योगा । योग साधनको मुख्य आधारभूत पक्षहरु मान्दा यसले प्रत्येक व्यक्तिकोशरीर,मस्तिस्क,भावना र शक्तिमा काम गर्छ । यसलाई मुख्य चार भागमा वर्गीकरण गरिएको छ । १. कर्म योग जस्ले शरीरमा काम गर्छ । २. भक्ति योग जस्ले भावनामा काम गर्छ । ३. ध्यान योग जस्ले मन/ मस्तिस्कमा काम गर्छ । ४. क्रिया योग जस्ले शक्तिमा काम गर्छ ।

मानिसको लागि योगा निकै महत्वपूर्ण छ । मानव शारीरिक, मानसिक र आध्यात्मिक पक्ष सहितको प्राणी हो । योगाले यी तिन वोटा पक्षलाई सन्तुलित विकाशमा प्रबर्धन गर्दछ । त्यसैगरि योगाले आत्म वास्तविकता पहिचान गरि यसको बढावा गर्न नि सहयोग गर्छ । मन मस्तिस्कबाट नकारात्मक भावहरु हटाउन र शरीरबाट टकसिन हटाउन सहयोग गर्छ । व्यक्तिगत सामर्थ्यमा वृद्धि तथा उच्च सचेतना साथ बाच्न सिकाउछ । एकाग्रता, ध्यान र बच्चाबच्चीमा पढाइमा केन्द्रित हुन सहयोग गर्छ ।शारीरिक शरीरमा तनाब कम गर्ने र पारासिम्प्येथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउन तथा सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग गर्छ ।

योगको अन्य फाइदाको कुरा गर्दा यसले प्रत्येक व्यक्तिको शरीर ,मस्तिस्क र आत्माको नियन्त्रणमा सहयोग पुर्याउछ । योगा आसनले शरीरमा तागत, लचकता र आत्मबिश्वासलाई बढाउछ । नियमीत योगा गर्नाले व्यक्तिको तौल घटाउन, तनाब कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र स्वस्थ जीवनशैली व्यथित गर्न सहयोग गर्छ ।

नेपालमा पनि विद्ध्यालय शिक्षाको पाठ्यक्रममै योगा समाबेश गर्ने कुरा केहि पहिले देखि नै चलिआएको छ र कति विद्ध्यालयहरुले त विद्धार्थीहरुलाई नियमित योग अभ्यास पनि गराउदै आएका छन् । संयुक्त राज्य अमेरिकामा सैयौ सार्वजनिक विद्धालयले विधार्थीहरुको लागि  विभिन्न योग अभ्यास गराइरहेका छन् भने भारतमा पनि केहि कलेज तथा सार्वजनिक विद्धालयले पनि यस्तो खालको कोर्स दिइरहेका छन् यद्यपी यो रास्ट्रीय नीति बनिसकेको छैन ।

अलिकति चर्चा गरौ विद्यार्थी जीवनमा योगा को महत्वको बारेमा । विद्यार्थीको दौडधुप(बिहानदेखि बेलुकासम्म स्कुलमै),अभिभावक र शिक्षकको दवाब,साथि साथि बीच र पढाइमा तुलना, सामाजिक चिन्ताले गर्दा कतिपय विद्यार्थीलाई तनाव सिर्जना भैरहेको हुन्छ ।सामाजिक संजालमा सक्रिएता, शारीरिक अभ्यासको कमीले गर्दा पनि योगले विद्यार्थीलाई फाइदा पुर्याउने देखिन्छ lयोगले विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहयोग गर्छ । त्यसै गरि योगले विद्यार्थीको प्रतिरोधात्मक क्षमता र शक्तिमा वृद्धि गर्छ र मन,मस्तिस्कलाई शान्त बनाइ मानसिक स्वास्थ्य समस्यामा लड्न सहयोग पुर्याउछ । विद्यार्थीहरुमा अनेक विचार आइरहेका हुन्छन् । योगले अनावस्यक बिचारहरुबाट पनि छुटकारा दिन्छ । त्यसैगरी यसले विद्यार्थीलाई आफु व्यवस्थित हुन र त्यो भन्दा राम्रो हुन प्रेरित गर्छ ।

अहिले बिश्व लगायत नेपालमा कोरोना भाइरसले जनजीवन त्रसित बनाइरहेको छ । यो महामारीको समयमा योगाले निकै सहयोग पुर्याउदछ । अहिले हामि धेरै जसो घर भित्रै रहेका छौ ।अहिले हाम्रो आवतजावत(शारीरिक अभ्यास) ज्यादै कम भएको छ । त्यसमा पनि कतिपयको अनलाइन बैठक तथा एकै ठाउमा बसेर मोबाइल, कम्प्युटर बाट घन्टौ सम्म काम गरिरहनु परेको छ ।यस्तो बेलामा अत्त्यधिक तनाव,छटपटी,उदाशी, अनिद्रा, चिन्ता,चंचल मन लगायतका लक्षणहरु देखा पर्दछन् । यस्बेला विभिन्न आसन,प्रणायाम, ध्यान गर्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्न जान्छ, मनमा एकाग्रता ल्याउनुको साथै तनाव कम गर्न मद्दत गर्छ । यो बेला हामीले विभिन्न आसन, प्राणायाम र योग अभ्यासमा ध्यान दिनु पर्छ ।

ति मध्य हामीले दैनिक रुपमा तादासन,स्कन्ध चक्र आसन, कटी चक्रासन, प्रशारित पदोत्नासन,नाड़ी सोधन प्राणायाम,भ्रामरी प्राणायाम, कपालभाती प्राणायाम र ध्यान गर्नाले हामीलाई तनाव मुक्त हुन,मनलाई एकाग्रता सहित रोग प्रतिरोध क्षमतामा वृद्धि हुन जान्छ । ध्यान योगाको एक महत्वपूर्ण भाग हो जसमा आसन, प्राणायाम, प्रत्याहर र धारण समाहित हुन्छन् । अहिले विभिन्न ठाउमा रहेका क्वारेन्टिनमा पनि योग अभ्यास, आसन, प्राणायाम संचालन गरेको देखिएको छ l योग तथा ध्यानले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको तनाव कम हुने;शारीरिक,मानसिक र आध्यात्मिक शान्ति हुने र रोगसंग लड्न सक्ने क्षमताको पनि वृद्धि गर्छ ।

हामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्यो,आफ्नो जीवन शैलीमा ध्यान दिनुपर्यो र नियमित योग अभ्यास गर्यौ भने हामी निरोगी बन्न सक्छौ । आफु पनि योग गरौ र अरुलाई पनि सिकाइ स्वस्थ बन्न प्रेरित गरौ । तसर्थ, जहाँ भएपनि जस्तो अवस्थामा भएपनि योग,ध्यानको लागि केहि समय छुट्याऔ र स्वस्थ बनौ ।

प्रतिक्रिया दिनुहोस