तुलसीपुरमा पेइङ्ग क्वारेन्टाईन सुरु

असार ०६, २०७७

पेइङ्ग क्वारेन्टाइन सुरु गर्ने तुलसीपुर यहाँको पहिलो स्थानीय तह हो ।

१४ दिन पछि पिसिआर टेस्ट गरेर नेगेटिभ रिपाेर्ट आए मात्रै घर जान पाइन्छ ।


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विदेशबाट आउनेलाई लक्षित गरेर पेइङ्ग क्वारेन्टाइन सुरु गरेको छ । विभिन्न देशबाट पिसिआर नेगेटिभ भएर आएकाहरुलाई उनीहरुको इच्छा अनुसार सुविधायुक्त होटेलहरुमा राख्नका लागि व्यवस्था गरिएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।


पेइङ्ग क्वारेन्टाइनका लागि तुलसीपुरका विभिन्न होटेल व्यवसायीहरुसँग छलफल गरिएको थियो । “बाहिरबाट आउने मान्छेको संख्या हेरेर कतिवटा होटेल प्रयोग गर्ने भन्ने योजना बनाएका छौं” केसीले भने । उनले पेइङ्ग क्वारेन्टाइनमा बस्न नचाहनेहरुका लागि उपमहानगरपालिकाले नै बनाएको क्वारेन्टाइनमा राखिने पनि वताए ।

“व्यक्तिले कस्तो चाहना गर्नुहुन्छ त्यसैमा भरपर्दछ” फोकल पर्सन केसीले जानकारी दिए । यस्तो क्वारेन्टाइनमा वस्नेले आफै सम्पूर्ण लागत खर्च ब्यहोर्नुपर्नेछ ।


अहिले भारत, थाइल्याण्ड र ओमन लगायतका देशबाट आएका ५ जना पेइङ्ग क्वारेन्टाइनमा बस्दै आएका छन् । स्वास्थ्य शाखाले उनीहरुको नियमित चेकजाँच गरिरहेको छ । “१४ दिन पछि पिसिआर टेस्ट गरेर नेगेटिभ रिपाेर्ट आए मात्रै घर जान पाइन्छ” फोकल पर्सन केसीले भने । पिसिआर गरेकाे पैसा भने नलाग्ने पनि केसीले जानकारी दिए ।


पेइङ्ग क्वारेन्टाइन सुरु गर्ने तुलसीपुर यहाँको पहिलो स्थानीय तह हो ।

प्रतिक्रिया दिनुहोस