प्रदेश ५ का विभिन्न घटनामा चार जनाको मृत्यु

असार ०६, २०७७

बुटवल– प्रदेश ५ का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ।

रुपन्देही, पाल्पा र गुल्मी जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो।

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। रुपन्देहीको मायादेवी गाउँपालिका ८ बसडिलवामा करेन्ट लागेर रुपन्देही सिद्धार्थ नगरपालिका १२ शान्तिनगरका २१ वर्षका आयुष पुनको मृत्यु भएको हो।

साथी जोहान गुरुङको घरमा बस्दै आएका उनले मोटर चलाई धारा खोल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए। घाइते भएका उनको उपचारका क्रममा सिटी हस्पिटल भैरहवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गुल्मी रुरु क्षेत्र गाउँपालिका–१ साखरमा एक पुरुषको शव फेला परेको छ। नाम थर ठेगाना नखुलेको अन्दाजी १४–१५ वर्षको पुरुषको शव रिडी खोलाले बगाएर ल्याएर ढुङ्गाको चेपमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका हुन्। शवको हालसम्म पहिचान खुल्न नसकेको र शव प्राथमिक स्वास्थ्य केन्द्र रिडीको मुर्दा घरमा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा बाथरुमबाट लडेर एक पुरुषको मृत्यु भएको छ। भार्सेका ४० वर्षीय दान बहादुर श्रीष आफ्नै घरको बाथरुममा लडेर घाइते भई उपचारको लागि पाल्पा ल्याउदै गर्दा मृत्यु भएको हो। उनकी श्रीमतीले बीच बाटोमा मृत्यु भएको आशंकामा पुनः फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा पु¥याएपछि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

पाल्पाको रामपुरमा मृत अवस्थामा शव फेला परेको छ। रामपुर नगरपालिका ६ तातोपानी घाटस्थित कालीगण्डकी नदीको किनारमा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको हो।

अन्दाजी १७/१८ वर्षको जस्तो देखिने पुरुषको पेटमा चिरेर टाँका लगाएको जस्तो घाउसमेत रहेको र शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस