राप्ती नदीमा पानीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

असार ०६, २०७७

देउखुरी – राप्ती नदीमा बाढी आएपछि पानीको सतह खतराभन्दा माथि पुगेको छ।

दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो। पानीको सतह ५ मिटर ६१ सेन्टिमिटर पुगिसकेको छ। ५ मिटर ४० सेन्टिमिटर पुगेपछि डुवानको खतरा मानिन्छ।

नदीमा पानीको सतह खतराको तह पार गरिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाइएको छ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले नदीमा पानीको तह खतराको तह पार गरिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन साइरन बजाइएको जानकारी दिए।

‘हामीले गाउँपालिकाहरुलाई भनिसकेका छौं। तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन साइरन बजाइसकेका छौं’, बुढाथोकीले भने, ‘२०७४ सालको बाढीमा ६ मिटर कटेपछि समुदायमा पानी पसेको थियो।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने गर्दछन्।

भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध बनाएपछि सन् १९८५ देखि वर्षेनी बाँकेका आधा दर्जन गाउँमा डुवानमा पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस