अब मेडिकल सामग्री खरिदको सबै काम स्वास्थ्य मन्त्रालयबाट

असार ०६, २०७७

सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको छ। सिसिएमसीको शुक्रबार बसेको बैठकले सेनाले खरिद गरेको सबा दुई अर्ब बराबरको मेडिकल सामग्री खरिद  प्रक्रिया विवादमा परेपछि पुनः विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै खरिद गर्ने निर्णय गरेको हो।

सिसिएमसीको निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मेडिकल सामग्री स्वास्थ्य मन्त्रालय मार्फत नै गर्ने निर्यण गरेको बताएका हुन्।

पछिल्लो समय सेनाले जिटुजीमार्फत चीनबाट खरिद गरेको ६७ शीर्षकको मेडिकल सामग्रीमा १ अर्बभन्दा बढी घोटाला भएको विषय उजागर भएसँगै सरकारले फेरि स्वास्थ्य मन्त्रालय मार्फत नै मेडिकल सामाग्री खरिद गर्ने निर्णय गरेको छ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको सबै प्रक्रिया स्वास्थ्य मन्त्रालयमार्फत अघि बढ्ने बताइन्। ‘अब सबै मेडिकल सामग्री खरिद प्रक्रिया स्वास्थ्य मन्त्रालयले गर्ने हो’, मन्त्री अर्यालले भनिन्।

केही दिन अगाडि मात्रै सेनाले आफूहरूलाई विवादमा पार्ने  काम भएको भन्दै मेडिकल सामग्री खरिद नगर्ने भन्दै सरकारलाई जानकारी गराएको थियो। साथै सेनाले खरिद गरेको मेडिकल सामग्रीको विषयमा संसदको सार्वजनिक लेखा समितिले समेत विवरण मागिसकेको छ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले माघ २५ गते गरेको मेडिकल सामाग्री खरिदको टेन्डर रद्द गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री ईश्वर पोखरेलले ओबिसिआईसँग मेडिकल सामग्री खरिद गर्ने निर्णय कोराना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिबाट गरेका थिए। तर, सो अन्तर्गतको मेडिकल सामग्री खरिद विवादमा परेपछि रक्षामन्त्री पोखरेलले स्वार्थ पूर्तिका लागि आफू मातहतको सेना मार्फत मेडिकल सामाग्री खरिद गराउने निर्णय मन्त्रिपरिषद्‌बाट गराएका थिए।

सेनाले गरेको मेडिकल सामग्रीमा पनि घोटाला भएको विषय उजागर भएसँगै फेरि स्वास्थ्य मन्त्रालयबाटै मेडिकल सामाग्री खरिद गर्ने भन्दै सरकारले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस