मानिसले किन गर्छन् त आत्महत्या ?

असार ०६, २०७७


मनोविश्लेषक बासु आचार्यका अनुसार आत्महत्या आफैंंमा रोग होइन। यो मनोरोगको परिणाम हो। उनका अनुसार आत्महत्याका लागि धेरै पक्षहरूले प्रेरित गरिरहेका हुन्छन्। डिप्रेसन, सिजोफेनिया, पर्सनालिटी डिसअर्डर, एडजस्टमेन्ट प्रब्लम, बाइकोलार, लगायत आत्महत्याको मुख्य कारण हुन्। अचानक कुनै परिस्थिति आइलागेमा वा अरूलाई रीस देखाउन पनि आत्महत्या गर्ने गरेको उनी बताउँछन्। 

“मानिसमा यी रोग हुँदैमा मर्छन् भन्‍ने होइन। तर यस्ता रोग भएका मानिसले आत्महत्या गर्न सक्ने सम्भावनाचाहिँ हुन्छ,” उनी भन्छन्, “कुनै दीर्घ रोग भएका वा अत्यधिक लागुऔषध र मद्यपान गर्ने मानिसहरूमा पनि आत्महत्याको सोच आउन सक्छ। र कहिलेकाहिँ अरूलाई दुःख दिन पनि आत्महत्या गर्न सक्छन्।”

सामान्य मानिसहरूलाई सानो उपलब्धिमा रमाउने खुशी हुने बानी परेको हुन्छ, यस्ता मानिसले समस्यालाई सहज रूपमा लिने गर्छन्। तर मनोविश्लेषक आचार्यका अनुसार डिप्रेसनमा भएको मानिसले सानो समस्यालाई ठूलो र ठूलो उपलब्धिलाई सानो देख्‍न थाल्छ। उसले एक्लो महशुस गर्न थाल्छ। “मानिसलाई डिप्रेसनले १५ दिनमै समात्‍न सक्छ,” आचार्य भन्छन्, “तर मानिसलाई आफू डिप्रेसनको शिकार भएको स्वीकार गर्न पाँच वर्ष लाग्छ।”

डिप्रेसन वा अन्य रोगले समात्दा सुरुमा महशुस नै नहुने तर पछि त्यही रोगले बिस्तारै सबै थोकमा असर देखाउन थाल्ने उनी बताउँछन्। “केही उत्साह, उमंग, रस, जाँगर नै हुँदैन। उनीहरू आफूलाई एउटा कोठामा बन्द गरेर राख्‍न चाहन्छन्। उनीहरू आशा, भरोसा र सहयोगविहिन हुँदै जान्छन्। आफूलाई निरर्थक देख्‍नु र आफैंंलाई माया नगर्नुले मानिसलाई कमजोर बनाउँदै लैजान्छ र व्यक्तिले आत्महत्या रोज्छ”, आचार्य भन्छन्।

आचार्यका अनुसार मनोरोगले काम राम्रोसँग गर्न नसक्ने, डिभोर्स हुने लगायतका घटनासम्म पुर्याउँछ। यस्ता रोग लागेका मानिस घर वा समाजमा टिक्नै नसक्ने महशुस गर्छन्। जसले गर्दा मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेलिदिन्छ। 

आचार्य भन्छन्, “त्यसपछि मानिसले बाँच्‍नुपर्छ भन्‍ने सोच्‍नै छोडिदिन्छ। दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्‍ने कुरा मात्र आउँछ। स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ। तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ। कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्‍ने कुरा मात्र आउँछ।” 

बासुका अनुसार दिमागमा सेरोट्रोनको मात्रा कम छ भने मानिसले चाहेर पनि सकारात्मक सोच्‍न सक्दैन। दिमागमा डोपामिन भन्‍ने तत्व बढी भएमा मानिसमा भ्रम पैदा हुन्छ। यसले अरूले आफूमाथि षडयन्त्र गरिरहेको महशुस गराउँछ। 

कोही उदास रहेको कसरी थाहा पाउने ?
मनोविश्लषेक वासु आचार्यका अनुसार आत्महत्या गर्ने वा मानसिक रोगले ग्रस्त मानिसले विभिन्‍न संकेत देखाउँछन्। तिनलाई परिवारका सदस्य बुझेर हल गर्ने कोशिस गर्नुपर्नेमा उनी जोड दिन्छन्। कुनै पनि मानिसलाई धेरै गाली मात्रै गरिरह्यो भने पनि उसमा मृत्युको सोच आउन सक्ने भएकाले परिवारका सदस्यलाई बुझ्ने कोशिस गर्नुपर्ने उनी बताउँछन्। 

“मानिसलाई डिप्रेसनले १५ दिनमै समात्‍न सक्छ। तर मानिसलाई आफू डिप्रेसनको शिकार भएको स्वीकार गर्न पाँच वर्ष लाग्छ।”

“यदि आफ्ना परिवारको सदस्य एक्लै बस्‍न रुचाउने, उदास रहने, काममा मन लगाउन नसक्ने भयो भने उनीहरूलाई के भएको छ भनेर बुझ्न पर्छ,” उनी भन्छन्, “उनीहरूले सामाजिक सञ्‍जालमा दर्दनाक, एक्लो भएको महशुस दिने खालका, आँशुले भरिएका समाचार,  ट्रोल वा कविता, शायरीहरू सेयर गर्छन्। ऋणी भएर मर्न नचाहनेहरू कोही आफुले लिएको ऋण तिर्दै हिँड्छन्। परिवारका सदस्य कुन अवस्थामा छन् त्यो बुझ्‍नपर्छ।” 

मानसिक समस्या ब्यवस्थापन गर्ने मुख्य दुई तरिका हुन्छन्। एउटा औषधि सेवन हो भने अर्को साइकोथेरापी। औषधि सेवनले मस्तिष्‍कमा थपघट भएको तत्वहरू समायोजन गर्छ। साइकोथेरापीले मानिसको सोच्‍ने नजर नै परिवर्तन गर्छ। 

आचार्य भन्छन्, “त्यस्तै घरमा दीर्घ रोगी वा कुनै मानसिक रोगी छन् भने परिवारका सदस्यले घरमा उनीहरूको कोठाको चुकुल याद गरिरहनुपर्छ। र  सिलिङमा पर्खा झुण्ड्याउने वा कुनै अड्काउन मिल्ने कुराहरू राख्‍नुहुँदैन।”

प्रतिक्रिया दिनुहोस