काेराेनाले लियाे ज्यान ४६ वर्षीय बस चालककाे

असार ०४, २०७७

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको बुधबार साँझ मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा जगदीशप्रसाद जोशीका अनुसार गोदावरी नगरपालिका–४ का ४६ वर्षीय कोरोना संक्रमितको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो।

चिकित्सकले उनलाई कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन्। चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो। उनी बस मालिक हुन्।

भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्याउने क्रममा उनी संक्रमित भएको शंका गरिएको छ। उनी कहिले आफै बस चलाउथे भने कहिले बसको क्याबिनमा चालकसँगै बस्थे। त्यही क्रममा उनी संक्रमित भएको बताइएको छ।

कोरोनाको लक्षण देखिएपछि उनी धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका थिए। त्यहाँ सामान्य उपचारपछि घर गएका उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए। नवजीवनको आईसियूमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिबार राती उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको थियो। खराब मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन।

बिहीबार उनको उद्धारका लागि निगमको सानो जहाज धनगढी जाने तयारीमा थियो। अरुको उद्धार गर्दागर्दै संक्रमित भएका उनको थप उपचारका लागि काठमाडौं लैजान जहाज आउनु अगावै मृत्यु भयो। 

प्रतिक्रिया दिनुहोस