रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

असार ०३, २०७७

रौतहटमा बुधबार एकै दिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर संक्रमितको संख्या एक हजार नाघेको छ ।

बुधबार रौतहटको परोहा नगरपालिकामा २०, बौधिमाईमा ११, देवाही गोनाहीमा ८, इशनाथमा ६, मौलापुरमा ३, जनामा संक्रमण पुष्टि भएको छ । ७७ जनाको अहिलेसम्म ठेगाना प्रष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

बुधबार थपिएका १२५ जना संक्रमितसँगै रौतहटमा संक्रमितको कुल संख्या १ हजार ४६ पुगेको छ । मंगलबार रौतहटमा ५४ संक्रमित थपिएका थिए ।

लकडाउन फितलो

संक्रमितको संख्या बढ्दै गए पनि जिल्लामा लकडाउन खुकुलो पारिएको छ । रौतहटका मुख्य बजारमा स्थानीयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका सुरक्षा सतर्कता अपनाएका छैनन् ।

मुख्य बजार गौर, गरुडा र चन्द्रनिगाहपुर लगायत भित्री क्षेत्रमा होटल, किराना पसल, खाद्यान्न, कपडा पसल खुलेका छन् ।

नेपाल भारत सिमाना बन्द भनिए पनि त्यो लागु हुन सकेको छैन । प्रशासनले ध्यान नदिँदा भारतीयहरु सहजै रुपमा नेपाल प्रवेश गरिरहेका छन । रौतहटको सदरमुकाम गौर लगायतका स्थानमा व्यापार गर्ने भारतीय आवतजावत गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले हाल जिल्लामा सञ्चालनमा रहेका सवारी साधनमा भने कडाइ गर्ने भएको छ । जोर बिजोर प्रणाली र मोटरसाइकलमा एक जनामात्र सवार हुन पाउने नियम लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

रौतहटको विभिन्न आइसोलेसनबाट हालसम्म २४७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस