के सुशान्तसिंहलाई बलिउडको परिवारवादका कारण डिप्रेशन भएको थियो ?

असार ०२, २०७७

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले ३४ वर्षको उमेरमा गएको आइतबार संसार छाडे। पोस्टमार्टम रिपोर्टले उनले आत्महत्या गरेको देखाएको छ। उनी केही समययता डिप्रेशनका बिरामी थिए।

सुशान्तको आत्महत्यासँगै भारतमा मानसिक स्वास्थ्य समस्याबारे बहस शुरु भएको छ। यति मात्र होइन, बलिउडको परिवारवाद र सिण्डिकेटले संघर्षशील कलाकारलाई आघात पारेर आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको भनेर पनि सामाजिक सञ्चालमा चर्चा भइरहेको छ।

कङ्गना रनौतसहितका केही बलिउड कलाकारहरुले सुशान्तको आत्महत्याको कारण बलिउडमा व्याप्त परिवारवाद र सिण्डिकेट रहेको भन्दै चर्को आलोचना गरेका छन्।

घरानियाँ गुट र भाइभतिजावादमा रमाएको फिल्म उद्योगले सुशान्त जस्ता स्वतन्त्र रुपमा संघर्ष गर्दै आएका कलाकारको पर्वाह नगरेको उनीहरुको भनाइ छ। यस आधारमा बलिउड नै उनको हत्यारा भएको कटु टिप्पणीहरु पनि आइरहेका छन्। 

इन्स्टाग्राममा पोष्ट गरेको भिडियो मार्फत कंगनाले सुशान्तले फिल्म उद्योगमा आफ्नो कोही गडफादर नभएकाले फिल्म हेरेर उद्योगमा टिकाउन दर्शकलाई आग्रह गरेको, उद्योगले आफूलाई आफ्नो नमानेको जस्ता चिन्ता व्यक्त गरेको बताउँदै उनको आत्महत्या हो वा योजनाबद्ध हत्या भन्ने प्रश्न गरेकी छन्।

हुन पनि सुशान्तले फिल्म पाउन समस्या भोगेको विषय मुकेश भट्ट जस्ता कतिपय निर्माताहरुकै मुखबाट पुष्टि भएको छ। पाएका एकाध फिल्मबाटै आफ्नो प्रतिभा साबित गरेर उनले बलिउडमा स्थान बनाएका थिए। तर, सफलताको बाबजुद नयाँ फिल्म पाउन उनले संघर्ष गर्नुपरेको उनी निकटकाहरुले बताएका छन्। 

सुशान्तकी साथी हेयर स्टाइलिस्ट सपना भवनानीले पनि ट्वीट गर्दै सुशान्त केही वर्षयता कठिन परिस्थितिसँग जुधिरहेको बताएकी छन्।

उनले लेखेकी छन्, ”यो कुनै लुकेको कुरा होइन, सुशान्त पछिल्ला केही वर्षदेखि मुश्किल घडीमा गुज्रिरहेका थिए। कसैले पनि उनलाई साथ दिएनन्। सहयोगका लागि कोही अगाडि सरेन। आज भने सबै जना ट्वीट गरेर दु:ख देखाइरहेका छन्। यसबाट थाहा हुन्छ, फिल्म उद्योग कति रित्तो छ। यहाँ कोही पनि तपाईंको साथी छैन।”

सुशान्तको अवसानबारे फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीमाथि भारतीय केन्द्रीय मन्त्री बाबुल सुप्रियोले असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार भट्टले एक टीभी च्यानलमा कुराकानीका क्रममा सुशान्त कुनै वेला आफूसँग फिल्ममा काम माग्न आएको, आफूले नदिएको भन्दै सुशान्तको बारेमा पहिलेदेखि नै डर रहेको बताएका थिए।

भट्टले बताए अनुसार, सन् २०१२ मा ‘आशिकी-२’ र त्यसपछि ‘सडक-२’ बनाउने तयारी भइरहँदा सुशान्त उनको अफिसमा कामको लागि कुरा गर्न गएका थिए। तर, सुशान्तले ती फिल्ममा काम पाएनन्। भट्टले टाइम्स नाउ च्यानलमा भनेका थिए ”जब म सडक-२ बनाउन लागिरहेको थिएँ, आलिया र महेश भट्टले सुशान्तले काम गर्न चाहेको बताएका थिए। सुशान्त एक पटक फेरि अफिस आए। त्यो भेटमा उनीसँग फिल्म र जीवनका कैयौं विषयमा कुराकानी भयो। त्यही बातचितको दौरान सुशान्त मानसिक रुपमा अस्थिर लागेको थियो।”

भट्टले बोलेको उक्त भिडियो अंश रिट्वीट गर्दै मन्त्री बाबुल सुप्रियोले त्यस्तो अवस्था देख्दादेख्दै सुशान्तलाई सहयोग नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन्। उनले मुकेश भट्टलाई सम्बोधन गरेर लेखेका छन्, ”तपाईंको यो कुरा सुनेर म दुःखी छु। तपाईं मेरो साथी हुनुहुन्छ, तर यो कुरा कुनै हैरानीविना यति सजिलैसँग कसरी बताइरहनुभएको छ, जबकि तपाईंलाई यस्तो दिन आउँदैछ भनेर थाहा थियो। भलै तपाईंले व्यावसायिक कारणले सुशान्तलाई सडक-२ र आशिकी-२ मा मौका दिनुभएन, तर यो दु:खद कुरा हो- तपाईं उसको पिताको उमेरको भएर पनि त्यस अनुसार उसलाई व्यवहार र सहयोग गर्नुभएन।”

यसैबीच, मुम्बई प्रहरीले सुशान्तको आत्महत्यामा फिल्म उद्योगको व्यावसायिक प्रतिद्वन्द्विता कारक रहेको विषय आइरहँदा यसबारे पनि अनुसन्धान गर्ने भएको छ। महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सोमबार राति एक ट्वीट गरेका छन्, “अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्टका अनुसार उनले झुन्डिएर आत्महत्या गरेका थिए। केही मिडिया रिपोर्टहरुले उनी व्यावसायिक प्रतिद्वन्द्विताको कारण डिप्रेशनको शिकार भएको बताइरहेका छन्। मुम्बई प्रहरीले यो पाटोमा पनि अनुसन्धान गर्नेछ।”

‘काइ पो चे’, ‘धोनी: द अनटोल्ड स्टोरी’, ‘पीके’, ‘डिटेक्टिभ ब्योमकेश बख्शी’ र ‘छिछोरे’ जस्ता लोकप्रिय फिल्ममा काम गरेका सुशान्त आइतबार मुम्बईको बान्द्रास्थित आफ्नो घरमा मृत भेटिएका थिए। प्रहरीका अनुसार, क्लिनिकल डिप्रेशनसँग जुधिरहेका उनले यसबाट पार पाउन डाक्टरको सहयोग लिइरहेका थिए।

सुशान्त टीभी सिरियल ‘पवित्र रिश्ता’ (सन् २००८-०९) बाट लोकप्रियता कमाएका थिए। सन् २०१३ मा ‘काइ पो चे’ फिल्मबाट बलिउडमा डेब्यू गर्दै उनले आफ्नो स्थान बनाइरहेका थिए। – एजेन्सी

प्रतिक्रिया दिनुहोस