एक वडा सदस्य सहित दाङमा ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमित

असार ०२, २०७७

सोमबार दाङमा ४३ जना कोरोना संक्रमित थपिएका छन्।  घोराही उपमहानगरपालिकामा  ४२ जना र बंगलाचुली गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन्।

घोराही-१७ मा १७ जना संक्रमित भने क्वारेन्टिनमा बसे पनि रिपोर्ट आउनुभन्दा पहिलै घर पठाइएकाहरू हुन्। उनीहरूमध्ये १५ पुरूष १४ देखि ५५ वर्षसम्मका छन् भने २३ र ३० वर्षीया २  जना महिला छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घोराही १८ का ७ जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरूमध्ये २४ देखि ६० वर्ष सम्मका ५ जना पुरूष र २३ र ६० वर्षीया दुई महिला छन्। घोराही-४ मा २० देखि ३१ वर्षसम्मका ७ पुरूष र ३१, ४१ र ५७ वर्षीया ३ महिला गरी १० संक्रमित फेला परेका हुन्।

घोराही-५ मा १८ देखि ३८ वर्ष उमेर समूहका ५ पुरूष, घोराही-३ मा ३३ देखि ४८ वर्ष समूहका ३ पुरूषमा कोरोना संक्रमण भेटिएको प्रतिष्ठानका कामयमुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।

त्यसैगरी, बंगलाचुली गाउँपलिका-३ का १ जना २२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको कामु रजिष्ट्रार देवले जानकारी दिए। योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ८७ जना पुगेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।  तीमध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन्।

सोमबार फेला परेका घोराहीका ४२ जना सबैलाई घोराही-१० नारायणपुरस्थित नगरले निर्माण गरेको आइसोलेसनमा लगिएको छ।

४ स्वास्थ्यकर्मी पनि संक्रमित

सोमबार घोराहीका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घोराही वडा नं. २ रामपुरको  सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत ४६ वर्षीय एक पुरूष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत ४८ वर्षीय अर्का पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ।

त्यस्तै, घोराही वडा नं. ४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ वर्षीया दुई महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ। उनीहरू क्वारेन्टिनमा रेखदेख गर्न जाने आउने गर्दै आएका स्वास्थ्यकर्मीहरू हुन्।

बंगलाचुलीमा वडाध्यक्ष र सदस्यमा पनि संक्रमण

आइतबार जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ का  एक वडा सदस्य, एकजना स्वयम सेवक र एक जना भान्सेमा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि सोही गाउँपालिकाका एक वडाध्यक्षलाई पनि कोरोना संक्रमन पुष्टि भएको थियो । ती वडाध्यक्ष अझै आइसोलेनसमै छन्।

प्रतिक्रिया दिनुहोस