प्रदेश ५ काे बजेट आज बजेट, कृषि र स्वास्थ्य प्राथमिकतामा

असार ०१, २०७७

मुख्यमन्त्री कार्यालय

बुटवल – प्रदेश ५ सरकारले सोमबार आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रीका रुपमा मुख्यमन्त्री शंकर पोखरेलले नै प्रदेशको तेस्रो बजेट ल्याउँदैछन् । दिउँसो ३ बजे प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले ३८ अर्ब हाराहारीको बजेट पेश गर्ने छन् ।

बजेटमा यस पटक स्वास्थ्य, कृषि र रोजगारीमा बजेट केन्द्रित हुने संकेत सरकारले गरेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषि उत्पादन, स्वास्थ्य सुधार र रोजगारी स्थापनालाई प्राथमिकता दिएको थियो ।

कोरोनाले गरेको क्षति न्यूनीकरण गर्न बजेटमा नयाँ कार्यक्रम समावेश गरिने छ भने स्वदेशी श्रमिक प्रयोगमूलक योजना बनाउने र उक्त योजना कार्यान्वयनका लागि बजेटमा समेटिने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

स्रोत अनुमान समितिको सिफारिसमा अनुमान गरिएको बजेट प्रतिवेदनका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तयार गरेको छ ।

चालु आर्थिक वर्षको ३६ अर्ब ४१ करोड ६८ लाखबाट बढेर आगामी आर्थिक वर्षका लागि ३८ अर्ब हाराहारीको बजेट पेश हुनेछ । कृषिमा आधारित रोजगारमुलक कार्यक्रम, स्वास्थ्यका पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा बजेट बढ्ने बताइएको छ ।

बजेटमा चालु वर्षको जस्तो पूर्वाधार प्राथमिकतामा नपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले जानकारी दिए ।
कोरोनाले स्वास्थ्य अवस्थाको हैसियत देखाइदिएकाले पनि सरकारले बजेट रुपान्तरण गर्न बाध्य भएको हो ।

चालु आर्थिक वर्षलाई हेर्ने हो भने कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमध्ये भौतिक पूर्वाधारमा दुई तिहाईभन्दा धेरै बजेट विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले जेठ १३ गतेसम्म कुल बजेटको १४ अर्ब ७ करोड ७१ लाख १९ हजार अर्थात ३८.६३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । तीव्र काम हुने समयमा लकडाउनले गर्दा काम हुन नसकेको प्रदेश सरकारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस