शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्छः प्रधानमन्त्री ओली

असार ०१, २०७७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्ने बताएका छन् । उनले कोरोना महामारीका कारण नियमित पठनपाठन रोकिएका बेला वैकल्पिक सिकाई प्रविधिको प्रयोगलाई महत्व दिनुपर्ने बताए ।

वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा साेमबार प्रत्यक्ष शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गतिविधि सुचारु गर्नका लागि प्रविधिको उपयोग गर्नुको विकल्प नरहेको बताए ।

विकासको पहुँच समान नभएको नेपालमा प्रविधिको पहुँच पनि समान नभएको तर्फमा आफू सचेत रहेको उनले बताए । तर जहाँ जे सम्भव छ त्यसको प्रयोग गरिनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

उनले प्रत्यक्ष स्वअध्ययन, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन प्रणालीबाट सिकाईलाई निरन्तरता दिइने बताए ।

देशभरका ३२०० भन्दा बढी विद्यालय क्वारेन्टिनस्थलका रुपमा रहेका बेला वैकल्पिक सिकाई प्रणालीले शैक्षिक सत्र नै प्रभावित हुने चिन्ता हटाउने बताए ।

विद्यार्थीको सिकाइमा थप क्षति नहोस् भन्नका लागि वैकप्लिक सिकाई प्रणाली सुरु गरिएको बताउँदै उनले अबको पुस्तालाई नयाँ प्रविधिमा अब्बल पुस्ताका रुपमा तयार पार्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि रोकिएको शैक्षिक क्रियाकलापले अब एसईईको विकल्प खोज्नुपर्नेमा राज्यलाई उत्प्रेरित पारेको बताए ।

ओलीले भोलिको देशको कर्णधारलाई दुनियाँसँग प्रतिस्पर्धा गर्ने गरी तयार पार्नका लागि राज्यले प्रसस्त लगानी गर्ने र त्यसमा अभिभावक र विद्यार्थीले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले अबको पुस्ताले अधिकारका लागि लड्न नपर्ने भएकोले मुलुक बिग्रदैँ पो छ कि भन्ने चिन्ता लिन नपर्ने बताए ।

‘मुलुक बिग्रदैँ पो छ कि, सरकार कर्तव्यबाट चुक्दै पो छ कि भन्ने चिन्ता लिन पर्दैन, हाम्रो मुलुकमा अब अर्को आन्दोलन आवश्यक छैन’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस