चाैरजहारी घटनाका आरोपी ३४ जनाविरुद्ध अभियोग दर्ता

जेठ ३२, २०७७

रूकुमपश्चिम। चौरजहारी नगरपालिका-८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ।

पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एकजनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो।

पक्राउ परेका सोती गाउँका २८ र फरार पाँचजनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो।

त्यस्तै पक्राउ परेका जाजरकोटका एकजनाविरुद्ध मतियार कसूरमा अभियोग दर्ता भएको छ।

पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एकजनालाई तीनवटै कसूरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। उनका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ।

प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ (ख) बमोजिम सजायको माग दाबी गरिएको छ। घटना भएको २३ दिनपछि आज जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।

आज अभियोग दर्ता भएपछि अब भाेलिदेखि बयान शुरू हुने स्रेस्तेदार बोहराले बताए। पक्राउ परेकामध्ये दुई बालबालिका छन्। उनीहरूको बयान भाेलिदेखि शुरू हुने र बाँकीको बयान पर्सि २ असारदेखि शुरू हुने स्रेस्तेदार बोहराको भनाइ छ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ। पाँचजना अझै फरार छन्।

पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

फरार पाँचजनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। चाैरजहारी घटनामा ६ जनाको निधन भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस