रिपोर्ट नआउँदै क्‍वारेन्टाइनबाट घर पठाइएका ११ जनामा कोरोना संक्रमण

जेठ ३२, २०७७

 कञ्चनपुरको लालझाँडी गाउँपालिकामा नमूना संकलन पछि रिपोर्ट नआउँदै घर पठाइएकाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट फर्किएर गाउँपालिका-४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ११ जनालाई ३० जेठमा घर पठाइएको थियो। 

घर पठाइएका ११ जनाको हिजो कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो। 

हिजो कञ्चनपुरका थप २१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको थियो। तीमध्ये १४ जना लालझाँडी गाउँपालिकाका छन्।

लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकका अनुसार स्वाब संकलनपछि ११ जनालाई घर पठाइएको थियो। 

“हामीहरू भागेर जान्छौँ, यहाँ राखेर के गर्नुहुन्छ ? भन्दै द्वन्द्व नै गर्न आएपछी सुरक्षाकर्मीहरुहरूको सहमतिमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाएका थियौं”, बडायकले भने। 

रिपोर्ट पोजिटिभ देखिएको जानकारी आएसँगै उनीहरूलाई फेरि क्वारेन्टाइनमा ल्याउने तयारी भइरहेको अध्यक्ष बडायकले जानकारी दिएका छन् ।

तर, क्वारेन्टाइनसमेत व्यवस्थित नहुँदा अन्यलाई समेत जोखिम बढ्ने भन्दै संक्रमितलाई नल्याउन त्यहा रहेकाहरूले विरोध गरिरहेको उनले बताए। 

कोरोना संक्रमित बढ्दै जाँदा कञ्‍चनपुरमा आइसोलेसन बेडको समेत अभाव भएको छ। 

प्रतिक्रिया दिनुहोस