घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

जेठ ३२, २०७७

दाङ, जेठ ३२ । दाङको घोराही उपमहानगरपालिकाले आज आइतबार आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमखु नरुलाल चौधरीले नगरको सातौं नगरसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

नीति तथा कार्यक्रममा कृषि तथा पुशु पालन क्षेत्रलाई प्राथामिकता दिइएको छ । त्यस्तै विदेशबाट स्वादेश फर्कने युवाहरुका लागि पनि स्वरोजगार बनाउने नीति तथा कार्यक्रममा समावेश भएको छ ।

नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा किसानहरुलाई उत्पादकत्व वृद्धि गर्न ६० प्रतिशत अनुदानमा मल वि (धान, गहुँ, मकै) उपलब्ध गराउने, विदेशबाट फर्केका युवा युवतीहरुलाई मध्येनजर गरी ‘भूमि बैंक’ स्थापना मार्फत करारमा खेती गर्न जग्गा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने, वनलाई कृषिसंग आवद्ध गर्दै जिल्ला वन कार्यलय संगको सहकार्यमा वटा नमुना कृषि वन विकास कार्यक्रम संचालन गर्ने बताए ।

त्यस्तै उनले विदेशबाट फर्केका युवा युवतीलाई लक्षित गरि सहकारी तथा सामुहिक कृषि विकास कार्यक्रम संचालन गर्ने, कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको (धान, गहुँ, मकै) न्यूनतम मूल्य निर्धारण गरिनुका साथै खाद्य भण्डारण एवं विक्री वितरणको उचित व्यवस्था मिलाउने, कृषिमा महिला संलग्नता एवं सहभागिता वढाउनुका साथै सामुहिक एवं करार खेतीलाई विशेष प्राथमिकता दिने, प्रत्येक वडाको सम्भाव्यताको आधारमा पकेट क्षेत्रको पहिचान गरी कृषकलाई एकिकृत रुपमा सेवा सुबिधा उपलब्ध गराउने उल्लेख गरे ।

नगर प्रमुख चौधरीले पशुपालन क्षेत्रलाई पनि प्राथामिकतामा राखे । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाख्रापालन तथा गाई भैसीपालन पकेट प्याकेज कार्यक्रमलाइ निरन्तरता दिन थप पकेट प्याकेज कार्यक्रम संचालन गर्ने, कृषकहरुलाई बहुउदेश्य कुखुरापालन व्यवसाय तर्फ आकर्षण गरि पोषण सुधारका लागि बहुउद्देश्य कुखुराका चल्ला वितरणमा ढुवानी सेवा उपलव्ध गराउने बताए ।

उनले नगरमा वढदो यूवा वेरोजगार समस्या समाधान गर्न एवं वैदेशिक रोजगारवाट फर्केका यूवाहरुका लागि सहकार्यमा यूवा लक्षित अनुदान कार्यक्रम संचालनमा ल्याइने जानकारी दिए । माछापालन व्यवसायलाइ प्रतिस्पर्धि वनाउन माछाका भुरा खरिद तथा ढुवानीमा पुर्ण तथा सहकार्यमा अनुदान व्यवस्था गरिन, पशुपन्छीको मृत्यू भइ कृषकलाइ पुग्ने क्षतीवाट राहत प्रदान गर्न पशु विमा कार्यक्रम संचालन गरिने , प्रदेश सरकारको सहकार्यमा मौरी जोन साथै मौरी स्रोत केन्द्र संचालन गरिने उहाँले उल्लेख गरे ।

यस्तै नीति तथा कायक्रममा घोराही उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट उच्च अंक प्राप्त गरी डाक्टर, इन्जिनियर अध्ययन गर्ने उपमहानगरवासी मध्ये एम.वि.वि.एस. तर्फ १ जना छात्र र १ जना छात्रा गरि २ जनालाई जनही रु ५ लाखका दरले र इन्जिनियरिङ तर्फ १ जना छात्र र १ जना छात्रा गरी जनही रु ३ लाखका दरले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने व्यवस्थालाई निरन्तरता दिईने जनाइएको छ ।

त्यस्तै ‘मलाई बढ्न देउ विवाह होइन पढ्न देउ’ भन्ने नारा सहित विभिन्न शैक्षिक कार्यक्रम संचालन गरिने, बालबालिका विद्यालय भर्ना दर एकसय प्रतिशत पुर्याउने लक्ष्य लिईएको नगरको मूख्य बजार क्षेत्रमा बढ्दै गैरहेको ध्वनी, वायु प्रदुषण कम गर्न सडक दुर्घटना, न्यूनीकरण तथा यात्रु आवागमनलाई व्यवस्थित गर्ने, घोराही प्रवेश गर्ने लमही घोराही सडक खण्डमा अत्याधिक सवारी चापका कारण साँघुरो भई अत्याधिक जोखिमयुक्त भएकोले संघ र प्रदेश सरकारको सहयोगमा वैकल्पिक प्रवेश मार्ग निर्माण गर्न विशेष पहल गर्ने, संघीय सरकारको सहयोगमा घोराही-१०, नारायणपुरमा निर्माण हुने आन्तरिक बिमानस्थल निर्माण कार्यमा आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस