दाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

जेठ ३२, २०७७

तुलसीपुर । दाङमा ट्रयाक्टर दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा ट्रयाक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २० वर्षीय रामबहादुर बुढाको आइतबार बिहान करीव पौने ४ बजे उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दाङबाट विद्युतको पोल लिएर प्यूठान तर्फ जाँदै गरेको रा १ त २७७५ नम्बरको उक्त ट्रयाक्टरका सहचालक प्यूठान, स्वर्गद्वारी नगरपालिका सिमिलेका वर्ष १८ का भेषराज घर्ती मगर र अर्का बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रबीसेका ३२ वर्षका ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको छ । यस्तै, मृतकको शव अहिले प्रतिष्ठानमा राखिएको छ ।

दुर्घटनाग्रस्त उक्त ट्रयाक्टर सडकबाट करीब १५० मिटर खोँचमा खसेको हुँदा उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । अप्ठ्यारो ठाउँमा दुर्घटना भएको हुँदा करीब ७ घण्टापछि मात्रै उनीहरुको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस