‘राजतन्त्रले गुमाएको भूभाग गणतन्त्रले फिर्ता लिँदैछ’ अध्यक्ष दाहाल

जेठ ३१, २०७७

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजतन्त्रले गुमाएको नेपालको भूमि गणतान्त्रिक नेपालले फिर्ता ल्याउन लागेको बताएका छन्।

भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर सरकारले जारी गरेको नेपालको राजनीतिक नक्शा निशान छापमा अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको छ।

प्रतिनिधि सभाको आजको बैठकले उक्त संशोधन विधेयक पारित गर्दैछ। विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेकपा अध्यक्ष दाहालले गुमेको भूभाग फिर्ता गर्ने ऐतिहासिक अवसर अहिलेको प्रतिनिधि सभालाई प्राप्त भएको बताए।

“लामो समयदेखि सबैजसो राजनीतिक आन्दोलनको केन्द्रमा समेत रहेको यो विषय हामी सबैको सामूहिक विवेकको प्रतिफल हो। व्यक्ति विशेषको मात्र मुद्दा होइन। गुमेको भूमि फिर्ता गर्न दाबी लिने र समस्यालाई सँधैका लागि समाधान गर्ने विषयमा हामी सँधै सहमत रहेका छौं,” उनले भने।

राष्ट्रिय महत्वका विषयमा नेपालका सबै राजनीतिक दलहरू एकैठाउँमा रहने संस्कृति विकास हुँदै आएको अध्यक्ष उनले बताए।

नेपालका दलहरूले राष्ट्रिय जिम्मेवारीका साथ सहमति गर्ने परम्परा बसालेको बताउँदै अध्यक्ष दाहालले यो समस्याको पनि दीर्घकालीन समाधान निकाल्ने बेलासम्ममा पनि सबै एकै ठाउँमा उभिने विश्वास व्यक्त गरे।

“भारतलाई अप्ठ्यारो पार्न यो एकता प्रदर्शन भएको होइन। नेपाली जनताको भावनालाई भारतले बुझिदिओस्,” उनले भने, “यसलाई चर्काएर कसैलाई फाइदा छैन भन्ने हामी सचेत छौं। निहित राजनीतिक मुद्दाका लागि यस्तो संवेदनशील मुद्दामा खेलबाड गर्ने नेतृत्व हामी होइनौं । हामीले विश्वसामु एउटा सन्देश दिएका छौं- हाम्रो राष्ट्रिय मुद्दामा एक ठाउँमा खडा हुन्छौं।”

नेपालको राजनीतिक आन्दोलनमा अहिलेसम्म दुईवटा मुख्य चुनौती रहेको दाहालले उल्लेख गरे। त्यसक्रममा उनले निरंकुश शासन फालेर लोकतन्त्रको स्थापना गर्ने र भौगोलिक अखण्डताको रक्षा गर्ने मुख्य चुनौती उल्लेख गरेका नेकपा अध्यक्ष दाहालले दोस्रो चुनौतीलाई सामाना गर्ने एउटा अभियानकै रूपमा आजको दिनसम्म आइपुगेको उल्लेख गरे।

भारतले सन् २०१९ को नोभेम्वरमा आफ्नो राजनीतिक नक्शा जारी गरेर नेपाली भूभागसमेत समेटेपछि नेपालले पनि आफ्नो दाबीसहितको नक्शा जारी गर्नुपरेको उनले बताए। भारतसँग गम्भीर रूपमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने बताउँदै उनले छिटै वार्ता हुने विश्वास व्यक्त गरे।

वार्ताका लागि नेपालले गरेको प्रयासका बीच भारतले नेपाली भूभाग हुँदै लिपुलेक पुग्ने बाटो उद्घाटन गरेपछि सबै नेपालीलाई उद्देलित गराएको बताए। भारतले नक्शा जारी गरेर र बाटो उद्घाटन गरेर नेपालीलाई एकताबद्ध हुन सहयोग पुर्‍याएको भन्दै दाहालले भारतका नेताहरूलाई धन्यवाद पनि दिए।

“हामीले भारतसँग शान्तिपूर्ण, कूटनीतिक र राजनीतिक संवादको माध्यमबाट समस्याको समाधान चाहन्छौं। एकपटक र सधैँका लागि यसको समाधान गर्ने उपायको खोजीमा छौं”, दाहालले भने।

त्यसका लागि नेपालले अधिकतम प्रयास गर्दै आएको दाहालले बताए। भारतसँग मित्रता र असल छिमेकी चाहेको बताउँदै उनले भारतको मैत्री र सहयोग अपरिहार्य भएको बताए।

देखापढीबाट

प्रतिक्रिया दिनुहोस