बाँकेकाे नरैनापुर बन्यो कोरोनामुक्त

जेठ ३१, २०७७

बाँके। कोरोनाको हटस्टप बनेको बाँकेको नरैनापुर गाउँपालिकाका सबै संक्रमित डिस्चार्ज भएका छन्।

गाउँपालिकाका ११७ जना काेराेनामुक्त भएर घर फर्किएका छन्। उनीहरूको नेपालगञ्ज र दाङका विभिन्न अस्पताल तथा कोरोना अस्पतालमा उपचार भइरहेको थियो।

३० जेठसम्ममा गरी सबैजना डिस्चार्ज भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबहादुर श्रेष्ठले जानकारी दिए। विभिन्न मितिमा गरेर हिजो सबैजना काेराेनामुक्त भएर घर फर्किएका छन्। अहिले पूरै गाउँपालिका कोरोनामुक्त बनेको श्रेष्ठकाे भनाइ छ।

त्यहाँ देखिएका ११८ जना संक्रमितमध्ये एकजनाको क्वारेन्टाइनमा मुत्यु भएको थियो भने बाँकी ११७ जना सबै निको भएर घर फर्किएका हुन्।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले सबै जना निको भएर घर फर्किसकेको भन्दै अब १७३ जना मात्र क्वारेन्टाइनमा रहेको बताए। उनीहरूको परीक्षण गर्न बाँकी रहेको भन्दै तत्कालका लागि गाउँपालिका कोरोनामुक्त बनेको बताए।

एकबेला महामारी आफ्नो नियन्त्रणभन्दा बाहिर गएर भन्दै संघीय सरकार गुहारेको थियो। छोटो समयमै सबै संक्रमित निको भएर घर फर्किएपछि गाउँवासीमा खुशीयाली छाएको छ।

भारतको महाराष्ट्रलगायतका क्षेत्रमा कामका लागि गएकाहरू फर्किएसँगै गाउँपालिका कोरोना हटस्पट बनेको थियो। ४ जेठमा एकजनाले क्वारेन्टाइनमै ज्यान गुमाएका थिए। लगत्तै तीव्र गतिमा देखिएकाे संक्रमण नेपाली सेनाको नेतृत्वमा नियन्त्रणमा आएको हो।

सेनाले गाउँघरमा गएर जनचेतना फैलाउने काम गरेको थियो। क्वारेन्टाइनमा बसेकाहरुलाई भगाएर घर लैजाने, गाउँमा असहयोग गर्ने, जनप्रतिनिधिमाथि आक्रमण गर्ने जस्ता गतिविधि भएको थियो।

प्रतिक्रिया दिनुहोस