कोरोनाबाट मृत्यु हुनेकाे संख्या १६ पुग्यो

जेठ ३०, २०७७

नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो। उपचारपछि घर फर्किने क्रममा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्।

नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्। १६ जना पछिल्लो चौबिस घण्टामा डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस