कोरोना संक्रमण रोक्न खर्च भएको १० अर्बको हिसाब माग्नेलाई प्रधानमन्त्री ओलीको जवाफः दिनैपिच्छे लेखा परीक्षण हुँदैन

जेठ २८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले १० अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई दिएको बताएका छन्। उनीहरुले  उक्त रकम सही काममा लगाएको विश्वास व्यक्त गरेका छन्। 

कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्यो ? भनेर सांसदहरुले गरेको प्रश्नको जफाव दिँदै उनले यस्तो बताएका हुन्। उनले आफू लेखा परीक्षणमा होइन, काममा केन्द्रीत भएको भन्दै सवाल उठाउने सांसदमाथि कटाक्ष समेत गरेका छन्। उनले भने, ‘दिनैपिच्छे लेखा परीक्षण हुँदैन। सरकार काममा केन्द्रीत छ।’

मंगलबार सांसद गगन थापा लगायतले संसद्मा  १० अर्बकाे हिसाब मागेका थिए। कोरोना संक्रमणका लागि पिसिआर टेस्टको संख्या नबढेको र क्वारेन्टाइन गुणस्तरीय नरहेको तर खर्च १० अर्ब भइसकेको हुँदा त्यसको हिसाब दिनुपर्ने बताएका थिए। 

उनले अविश्वासबाट कुरा थाल्नुपर्ने अवस्था नरहेको बताउँदै त्यसको हिसाबकिताब सरकारले आफ्नो प्रक्रियाबा दिने बताए। उनले संसदमा भने, ‘अहिले कतिपय माननीयज्यूले प्रश्न उठाउनुभएको छ। १० अर्ब खर्च भयो भने त्याे कहाँ भयो? केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ। तीन तहका सरकार छन्। उनीहरुलाई दिइएको छ।’

अहिले भ्रष्टाचार गर्न पर्खेर बसिरहेका थिए, त्यही गरे होलान् भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए। फिल्डमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधी मेहनत र दुःखका साथ खटिरहेको जानकारी गराए। 

अन्त्यमा उनले भ्रष्टाचार हुँदै नभएको दाबी चाहिँ नगर्ने तर विश्वास गर्ने बताए। उनले भ्रष्टाचार भयो भनेर लाञ्छना लगाउने प्रवृत्ति देखिएको भन्दै भ्रष्टाचार आफूले पनि नसहने बताए। उनले भने, ‘यो सरकारले अपारदर्शिता सहँदैन। कारबाही गर्छ नै। छानविन गर्छ र कानूनको कठघरमा उभ्याउँछ।’

प्रतिक्रिया दिनुहोस