कोरोना भाइरस : बदलिँदो डिजिटल शिष्टाचार

जेठ २७, २०७७

भिक्टोरिया टर्क

कोरोना भाइरस महाव्याधि सुरू हुँदा मेरो इनबक्समा नयाँ वाक्यांश अकस्मात तर नियमित रूपमा देखा पर्न थाल्यो। “सञ्चै हुनुहुन्छ भन्ने आशा छ” रातरात हराएजस्तो भो। यसको साटो “यो कठिन समयमा तपाईं सञ्चै हुनुहुन्छ भन्ने आशा छ” प्रयोग हुन थाल्यो।

महाव्याधिले हाम्रो सञ्चार सम्पर्क गर्ने तरिका परिवर्तन भएको छ। प्रविधिसँग हाम्रो सम्बन्ध नयाँ क्षेत्रमा अघि बढेको छ। राज्यहरू विस्तारै खुल्दैछन्। हाम्रो अधिकांश पेशागत र व्यक्गित जीवन भने केही समयसम्म अनलाइनबाटै चल्ने अनुमान गर्न सकिन्छ। अब डिजिटल शिष्टाचार अझ धेरै महत्वपूर्ण भएको छ।

यो तनावपूर्ण समयमा असल सम्बन्ध राख्न र “मिसकम्युनिकेसन” बाट टाढै रहन आधारभूत शिष्टाचार महत्वपूर्ण पनि हुन्छ। सम्झिनैपर्ने : अरू र आफूप्रति उदार बन्नुहोस्।

भिडियो प्रयोग गर्नुहोस्

भिडियो कल  जूम, स्काइप, गुगल ह्याङआउट वा अन्य माध्यमबाट होस्, लकडाउनले प्रविधिसँग हाम्रो सम्बन्धमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन हो। जीवनका थुप्रै सामाजिक पाटाहरू विस्तारै भौतिक स्थानमै फर्किँदै छन्। तर धेरैलाई कार्यालय फर्किन निकै टाढा छ। त्यसैले भिडियो मिटिङ शिष्टाचारको महत्व रहिरहनेछ।

“समूहमा हुँदा एक अर्काको आँखामा हेरिन्छ। शारीरिक हाउभाउबाट पनि अन्तर्क्रिया हुन्छ। अरूले बुझ्छन्,” युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक एन्ना कक्सले भनिन्,“तर सँगै नहुँदा हामी त्यसरी सूचना आदानप्रदान गर्न सक्दैनौं।”

भिडियो कलमा कसैले हेरेको वा ध्यान दिएको छ छैन ठम्याउन गाह्रो हुन्छ। दोहोरो अन्तर्क्रियात्मक वार्तालाप अलि अप्ठ्यारो हुन्छ। यसका लागि हात उठाउने प्रणाली अभ्यास ठिक हुन्छ। केही भिडियो एपमा यस्तो गर्ने सुविधा छ। नभए क्यामेरामा हेरेर औंला वा हात ठड्याउन सकिन्छ। यस्ता भिडियो कलका लागि एजेन्डा प्रष्ट राख्नु शिष्ट र महत्वपूर्ण हुन्छ।

पेशागतबाहेक गरिएको कलमा नियमहरू केही लचिलो भए पनि सबैले बोल्ने मौका पाउन भनेर एक जनालाई कलको नेतृत्व वा सहजीकरण गर्ने जिम्मा दिनुपर्ने कक्सको सुझाव छ। आफूले गरेको कामबारे एक अर्कालाई जानकारी दिए संवाद सहज रूपमा अघि बढ्छ।

म्युट बटन अर्को महत्वपूर्ण शिष्टाचार हो। यसलाई बारम्बार र विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्छ। पाँच जनाभन्दा धेरै सहभागी भएको भिडियो कलमा आफू नबोल्दा माइक्रोफोन सधैं म्युट गर्नुहोस्। यसले अनावश्यक ध्वनीको बाधा हटाउँछ। बोल्नुअघि आफूलाई अनम्युट गर्नुहोस्।

काम गर्ने संस्कृतिबारे पुनर्विचार गर्नुहोस्

मिटिङ गर्न कठिनाइ भइरहेको बेला रिमोट वर्किङ जनै गाह्रो हुनसक्छ। त्यसमाथि बारम्बार मिटिङ गर्नुपर्दा अर्को चुनौती थपिन्छ।  “काम गर्ने नयाँ शैली अपनाउनुपर्दा यसले काम अझै थपिन्छ,” कक्सले भनिन्। 

“इट, स्लिप, वर्क, रिपिट” का लेखक ब्रुस डेज्लीले टाढा बसेर काम गर्ने समूहलाई नियमित कामको संरचना लाद्न नहुने बताए। डिजिटल टुलले सधैंभरि अनलाइन बस्नुपर्ने बाध्यताजस्तो सिर्जना हुनसक्छ। “धेरैले मलाई सातामा २० घण्टा जूम कल गर्नुपरेको बताइरहेका छन्। हाकिमले क्यामरा पनि अन गर्न जोड दिने गरेका रहेछन्,” उनले भने।

अनलाइन “रेस्पोन्सिभनेस” सिर्जनशीलताको राम्रो मानक होइन। साँच्चिकै काम गर्न यसले बाधा पुर्या,उनसक्छ। दिनमा एक वा दुई घण्टा छुट्याएर सबैले त्यहि समयमा मेसेज पठाउने वा कलमा सहभागी हुने सहमति गर्नु उपयुक्त हुने डेज्ली बताउँछन्। इस्टर्न टाइम अनुसार दिउँसो १ बजेतिर अमेरिका र युरोपका लागि उपयुक्त हुनसक्छ।

लचकता पनि उत्तिकै महत्वपूर्ण भएको उनी बताउँछन्। अहिलेको परिस्थितिमा कडाइका साथ ९ देखि ५ बजेको कार्यसमय लागु गर्नु जति अनावश्यक छ त्यति नै भावविहीन पनि। धेरैले घरमा बालबालिका वा आफन्तको स्याहार गर्नुपर्ने हुन्छ। एकातिर महाव्याधिको तनाव छ अर्कोतिर लकडाउनको मनोवैज्ञानिक प्रभाव। कुनै समय थियो जब कार्यसमयभन्दा बाहेक इमेल पठाउनु शिष्ट मानिँदैन थियो। तर अहिले यो स्वीकार्य बन्दै गएको छ। तर तुरून्तै प्रतिक्रिया पाउने अपेक्षा गर्नुहुँदैन।

काम र जीवनबीच सन्तुलन कायम गर्नु धेरैलाई कठिनाइ भइरहेको छ। झन लकडाउन लम्बिँदा अझै समस्या भएको छ। त्यसैले केही अवस्थामा काम र व्यक्तिगत जीवनको दूरी घटाउनु पनि राम्रै हुन्छ। कार्यालयमा सामाजिक अन्तर्क्रिया कसरी हुन्थ्यो याद नहुनसक्छ। सहकर्मीले के गर्दैछन् निगरानी गर्नेभन्दा उनीहरूको सञ्चो बिसञ्चो सोध्नलाई पनि समय निकाल्नुहोस्।

यो महाव्याधिको अनुभवले दीर्घकालीन समयमा काम गर्ने तरिका थप लचिलो बन्दै जाने कक्सले आशा गरेका छन्। कार्यालयको भाडा तिर्नुभन्दा जूमको शुल्क सस्तो हुने भएकाले सबैलाई “रिमोट वर्किङ” लाद्न पनि नहुने डेज्लीले चेतावनी दिएका छन्।

टाढैबाट नजिक हुनुहोस्

भेटघाट नभए पनि सम्पर्कमा रहन सकिन्छ। खासमा सबैसँग सम्पर्क गर्न सबैले प्रयास गर्नुपर्छ। लन्डनका साइकोथेरापिस्ट र लेखक एरोन बलिकले व्यक्तिगत अन्तर्क्रियाको अभावको गुनासो जायज भएको बताए।

“मानव स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण पाटो गुमाएको स्वीकार्नु महत्वपूर्ण हुन्छ,” उनले भने,“मेरो विचारमा प्रविधिले यसलाई पूरा गर्न सक्दैन।”

डिजिटल माध्यमबाट भेटघाट मिलाउनलाई धेरै योजना बनाउनुपर्छ। काम गर्न र साथीभाइसँग सम्पर्कमा रहन भिडियो कल र इन्स्टेन्ट मेसेजिङ नियमित प्रयोग गरिरहनु भएको छ भने दुवैबीच छोटो विश्राम लिनु पनि उपयुक्त हुन्छ। 

“आफूलाई यो सङ्केत नदए, ती सामाजिक अन्तर्क्रिया पनि कामजस्तै लाग्नसक्छ,” डा. बलिकले भने। कामका लागि कम्प्युटर र सामाजिक जीवनका लागि फोन प्रयोग गरेर मानसिक सीमा पनि कोर्न सकिने प्राध्यापक कक्सले सुझाए।

उपकरणमा यति धेरै समय बिताउँदा आफूले हेर्ने र शेयर गर्ने विषयवस्तुबारे पनि सचेत हुनुपर्छ। “सामाजिक सञ्जालले चाँडै भावनात्मक प्रभाव पार्छ,” डा. बलिकले भने,“आक्रोश र रिस एकदमै छिटो फैलिन्छ। सामाजिक सञ्जालमा भेटिने विषयवस्तुमा माया र करूणाजस्ता न्यानोपन कमैमात्र हुन्छ।”

सबै जना कठिन परिस्थितिमा छन्। सामाजिक सञ्जालमा आफूले गर्ने पोस्टबारे पनि उत्तिकै सावधान रहनुपर्छ।यो कठिन परिस्थितिबारे ख्यालठट्टाले साथीभाइ नजिक त ल्याउला तर सार्वजनिक रूपमा यस्तो व्यवहार नगरेकै राम्रो। अरूले सन्दर्भ बुझ्ने गरी निजी च्याटमा यसबारे गफ गर्न सकिन्छ। 

केही कोरोना भाइरसमुक्त डिजिटल स्पेस बनाउन पनि सकिन्छ। ह्वाट्स एपको कुनै ग्रुप बनाएर अन्य विषयवस्तुमा गफ गर्न सकिन्छ। पहिले इन्स्टाग्राममा आफूले बनाएको परिकारका कहिले नटुङ्गिने तस्वीर राख्नु अरूका लागि दिक्दार लाग्थ्यो। अहिले यस्ता कामले कोभिड १९ को त्रासबाट केही भए पनि राहत दिनसक्छ।
लकडाउनको अनुभवले दीर्घकालीन रूपमा सम्बन्धलाई निरन्तरता दिन प्रविधिमै भर पर्नुपर्ने अवस्था आउन सक्ने डा. बलिके बताए। आमुन्ने सामुन्ने बसेर अन्तर्क्रिया गर्न कसलाई मन लाग्दैन र?

समग्रमा प्रविधिसँग हाम्रो सम्बन्ध अझ सूक्ष्म तहमा पुग्नेछ। अहिले काम र मनोरञ्जन दुवैका लागि प्रविधि अकस्मात महत्वपूर्ण भएकाले “स्क्रिन टाइम” को बहस पछि हटेको प्राध्यापक कक्सले बताइन्। भर्खर डिजिटल टुल प्रयोग गर्न थालेकाले लकडाउन खुलेपछि प्रयोग गर्न छाड्नेछन् भन्नेमा उनी शंका गर्छिन्। “जे पूर्वानुमान गर्न सक्दैनौं, ठ्याक्कै त्यही रहिरहन्छ,” उनले भनिन्।

काठमाडाै प्रेसबाट

प्रतिक्रिया दिनुहोस