प्रदेश ५ मा गणित परिषद्को अनलाईन तालिम गणितलाई रुचीकर बनाउँ: मन्त्री बराल

जेठ २६, २०७७


तुलसीपुर । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षाको सुधारका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताएका छन् । शिक्षाको विकास विना समाजको विकास हुन नसक्ने भन्दै अहिलेको अवस्थाबाट शिक्षालाई माथि उकाँस्नका लागि मन्त्रालयको तर्फबाट आवश्यक लगानी गर्ने कुरामा उनको जोड थियो ।

तालिममा सहभागीहरु


शिक्षाको गुणात्मक विकासका लागि शिक्षकको विशेष भुमिका हुने उनको भनाई थियो । “विद्यार्थी शिक्षकको छाँया जस्तै हो हामीले कस्तो वनाउने भन्ने कुरा हाम्रै हातमा छ ” उनले भने । मुलुकमा प्राविधिक शिक्षाको आवश्यकता रहेको र प्राविधिक शिक्षाका लागि गणित विषयको आवश्यकता हुने उनको भनाई थियो ।


प्रदेश नम्बर ५ गणित परिषद्ले आयोजना गरेको ३ दिने अनलाइन तालिमको उद्घाटन गर्दै मन्त्री बरालले गणित विषयप्रतिको आम विद्यार्थीको बुझाईलाई परिवर्तन गरेर रुचिकर बनाउन सबैले जोड दिनुपर्ने बताए । “गणित गाह्रो विषय भन्ने परम्परागत धारणामा परिवर्तन ल्याउन आवश्यक छ । ” मन्त्री बरालले भने ।

कार्यक्रमका विशिष्ट अतिथि परिषद्का केन्द्रीय अध्यक्ष प्राध्यापक डा. मदनमान श्रेष्ठले गणित विषयका शिक्षकहरुलाई अपडेट बनाउनका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन समारोहमा त्रिविका पूर्व उपकुलपति प्रा.डा.हिरा बहादुर महर्जन,वरिष्ठ गणितज्ञ प्रा.डा. हरिप्रसाद उपाध्याय,परिषद्का महासचिव रमेश प्रसाद अवस्थी, प्रा. उमानाथ पान्डे, डा. जेवि प्रधान , प्रेम शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


परिषद्का उपाध्यक्ष पर्शुराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लोक बहादुर बस्नेतले गणित शिक्षणमा प्रयोग हुने सामग्री निर्माण तथा प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए । परिषदकी सदस्य सम्झना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव विक्रम भण्डारीले गरेका थिए । कार्यक्रमकाे अध्यक्षता परिषद्का प्रदेश अध्यक्ष लाेकबहादुर बस्नेतले गरेका थिए ।


विभिन्न क्याम्पसमा अध्यापन गराउने ३ सय ७८ जनाको तालिममा सहभागिता रहेको उपाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस