पिसिआर रिपोर्ट नआएको भन्दै आइसियुमा सार्न नमानेपछि वीरमा एक बिरामीको मृत्यु

जेठ २६, २०७७

कोरोनाको पिसिआर रिपोर्ट नआएको भन्दै आइसियुमा सार्न नमानेपछि वीर अस्पतालमा एक महिलाको मृत्यु भएको छ। 

फिमेल मेडिकल वार्डमा उपचाररत ती महिलाको पिसिआर रिपोर्ट नआएको भन्दै अस्पतालले आइसियुमा सार्न मानेको थिएन। उनको अवस्था गम्भीर भएपनि अस्पतालको पिसिआर रिपोर्टको बहानामा आइसियुमा सार्न नमानेपछि बिरामीको मृत्यु भएको एक स्वास्थ्यकर्मीले बताए। 

आइसियुको शय्या खाली भएपनि अस्पतालले बिरामीलाई आइसियुमा सार्न नमानेको उनले बताए। 

कलेजोमा समस्या भएपछि उनी चार दिनदेखि अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए । आइसियुमा सार्ने क्रममा ती बिरामीको मृत्यु भएको उनले बताए। 

गम्भीर खालका बिरामीलाई पिपिई लगाए तत्काल उपचार गर्नु भनी सरकारले निर्देशन दिएपनि वीर अस्पतालले त्यसको उल्लघंन गरेको छ। सरकारले केही दिन अघि सार्वजनिक गरेको कोरोना परीक्षण गाइडलाइनमा पनि गम्भिर र आकस्मिक अवस्थामा रहेका बिरामीको पिपिई लगायतका सुरक्षा अपनाएर उपचार गर्नुपर्ने उल्लेख छ। तर, वीर अस्पतालले त्यसको पालना नगर्दा समस्या भएको अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए। 

अस्पतालले पछिल्लो समय गम्भिर अवस्थाका बिरामीलाई उपचार नगरी फर्काउने गरेको छ। 

प्रतिक्रिया दिनुहोस