नेपालका ७१ जिल्लामा कोरोना संक्रमण, यी हुन् संक्रमण नदेखिएका ६ जिल्ला

जेठ २६, २०७७

आइतबार साँझसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे साँझ ७ बजेसम्मको तथ्यांक अनुसार नेपालका ६ जिल्लामा भने संक्रमण देखिएको छैन।

देशका ७१ जिल्लामा गरि आइतबार साँझसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि निको भइसकेका छन्। संक्रमण देखिएकामध्ये १३ जनाको भने मृत्यु भएको छ। 

मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुंगा, प्रदेश ३ को रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला रहेका छन्। प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

नेपालमा हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

आइतबार २ सय १३ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। आइतबार रोल्पामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७१ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा १ हजार १ सय ६१, बागमतिमा ९२, गण्डकीमा १ सय ११, प्रदेश ५ मा १ हजार १ सय ८१, कर्णालीमा ६ सय ३३ र सुदूरपश्चिममा १ सय ११ जना संक्रमित छन्। 

यस्तै, प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ९ सय ७४, बागमतिमा ५७, गण्डकीमा १ सय ८, प्रदेश ५ मा ९ सय ४४, कर्णालीमा ६ सय २१ र सुदूरपश्चिममा ९६ जना गरी मुलुकभर २ हजार ९ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन्। 

मुलुकभर हाल १ हजार ७० हजार ७ सय ३२ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।    

प्रतिक्रिया दिनुहोस