कपिलवस्तुमा बैंकका प्रबन्धकसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २५, २०७७

बुटवल–कपिलवस्तुमा बैंकका शाखा प्रबन्धकसहित थप २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ४७ पुगेको छ।

आइतबार यशोधरा गाउँपालिकामा १३, महाराजगञ्ज नगरपालिकामा ९ र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यशोधरा गाउँपालिकाका २७ वर्षकी १ जना महिला र २० वर्षदेखि ४४ वर्षसम्मका १३ जना पुरुष रहेका छन्। महाराजगञ्ज नगरपालिकाका ६ वर्षदेखि ५१ वर्षसम्मका ९ जना पुरुष तथा कपिलवस्तु नगरपालिकाका ४० वर्षका एक जना पुरुष रहेका छन्।

आइतबार कपिलवस्तुमा एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। कपिलवस्तु नगरपालिकाले पठाएको स्वाबको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परीक्षणमा तौलिहवाको एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना देखिएको छ।

वित्तीय क्षेत्रका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको यो नेपाल मै पहिलो हो। कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ताका अनुसार नगर क्षेत्रमा स्वाब संकलन गरिरहेको बेला शाखा प्रबन्धक आफै स्वाब दिन त्यहाँ पुगेका थिए।

उनी सहित ६४ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाईएको थियो। प्राप्त नतिजा अनुसार बैंकका शाखा प्रबन्धकसहित सबैको नतिजा नेगेटिभ आएको संयोजक गुप्ताले बताए।

यसअघि कपिलवस्तुमै चार सुरक्षाकर्मी, चार सञ्चारकर्मी, २ स्वास्थ्यकर्मी, दुई कर्मचारी, एक जना वडाध्यक्ष समेत संक्रमित भएका थिए।

आइतबार नै कपिलवस्तुका १० जना निको भएर घर फर्किएका छन्। योसँगै कपिलवस्तुमा कोरोनामुक्त हुनेको संख्या ४२ पुगेको छ। बुटवल र दाङका दुई आइसोलेसन सेन्टरमा उपचाररत १० जना कोरोनामुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस