पाल्पामा बेरोजगार युवालाई कामको अवसर

जेठ २४, २०७७

पाल्पाको रामपुर नगरपालिकाले लकडाउनका कारण रोजगारी गुमाएका १०० जनालाई रोजगारी दिएको छ।

नगरभित्रका सडक किनारामा पक्की नाली निर्माण तथा सडक कालोपत्र र मर्मतसम्भारलगायत काममा उनीहरूलाई रोजगारी दिएको हो।

रामपुरको मुख्य बजार बेझाड क्षेत्रमा करीब ७१८ मिटर पक्की नाली निर्माण तथा ११० मिटर कालोपत्र सडक मर्मतको काम भइरहेको छ।

लकडाउनले काम नपाएर घरमै बेरोजगार बसेका युवा अहिले काम गर्ने अवसर पाएपछि खुशी छन्। कोरनाको विषम परिस्थितिमा काम नपाएर बसेका युवालाई यसरी विभिन्न योजना सञ्चालन गरी स्थानीय सरकारले काम दिएमा फुर्सदको समय सदुपयोगसँगै कमाइ गर्ने माध्यम बन्ने गरेको स्थानीयवासी सागर रेग्मीले बताए।

उनले भने, “लामो समयदेखि लकडाउन हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई नगरपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि यसमा आबद्ध भएका मजदुर खुशी भएका छन्।”

गत १३ जेठदेखि शुरू गरिएको काम ८ असारभित्र सम्पन्न गर्ने योजनाअनुसार नै निर्माण तथा मर्मतकार्यलाई तीव्रगतिमा अगाडि बढाइएको छ।

हालसम्म करीब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। सडक बोर्ड नेपालको ४८ लाख ५६ हजार ११९ रूपैयाँ र स्थानीय सरकार रामपुर नगरपालिका र जनसहभागीता गरी ३० प्रतिशत सहयोगमा काम शुरू गरिएको उपभोक्ता समितिका सचिव अशोक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस