लकडाउन उल्लंघन गर्दै खुले न्युरोडका पसल

जेठ २२, २०७७

७२ दिनसम्म सुनसान रहेको काठमाडौंको व्यवसायिक केन्द्र न्युरोड आज लकडाउनको ७३ औं दिन एक्कासी चलमलायो।
व्यवसायीहरूले बन्द रहेका सटर उघारे। यति लामो समयसम्म पसलमा जम्मा भएको धुलो बढारे। लामो समयसम्म पसल खोल्न नपाएपछि शुन्य व्यवसायमा पुगेका व्यवसायीले आज जबरजस्ती पसल खोलेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सचिवालयस्तरको बैठकले हरेक दिन बिहान ८ देखि ११ बजेसम्म पसल खोल्ने निर्णय गरेकाले खोलिएको महासंघका अध्यक्ष नरेश कटुवालले बताए।

“हिजो नेपाल राष्ट्रिय व्यवसायी महासंघ’को सचिवालयस्तरको बैठकले छलफल गरेर नेपालभर रहेका उद्योगी-व्यवसायीलाई समेट्ने विषयमा छलफल भयो। सामाजिक दूरी कायम राख्दै र स्वास्थ्य सामग्री राखेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका हौं। बिहान ८ बजेदेखि ११ बजेसम्म खोल्ने निर्णय गर्‍यौं”, कटुवालले भने।

उनले चार कारणले पसल खोल्न बाध्य भएको बताए। “घरबेटीले घरभाडा माग्ने, बैंकले ब्याज माग्ने, सरकारले कर माग्ने र व्यवसायीले कामदारलाई तलब पनि दिनुपर्ने यी चारवटा कारणले हामीले पसल खोल्ने निर्णय गर्‍यौ”, उनले भने।

कटुवालले महासंघले पसल खोल्ने मापदण्ड पनि बनाउँदै गरेको बताए। व्यवसायीले पसल खोले पनि सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने वा केही खुकुलो बनाउनेबारे निर्णय गरिसकेको छैन।

एक्कासी पसलहरू खुलेपछि प्रहरी-प्रशासनले भने बन्द गराउने प्रयत्न गरेको थियो। प्रहरीले जबरजस्ती बन्द गराउन खोजेको प्रति व्यवसायीहरूले आक्रोश पनि पोखे।

“प्रशासनले बन्द गर्न दबाब दिनु उचित भएन। हामी पनि एक्काइसौं शताब्दीका नागरिक हौं। स्वास्थय सुरक्षा कसरी गर्ने भन्नेबारे हामीलाई पनि थाहा छ”, कटुवालले भने।

आजै काठमाडौंको चावहिल, जोरपाटी लगायतका स्थानमा पनि व्यवसायीले पसल खोलेका थिए। प्रहरीले पसल बन्द गराउन खोजेपछि व्यवसायीले आक्रोश पोखेका थिए।

प्रतिक्रिया दिनुहोस