दुर्घटनामा ट्रक चालकको ज्यान गयाे

जेठ २१, २०७७

दाङ– घोराहीबाट भारत जाँदै गरेको टिभि ०५ डब्लू ७७३३ नम्बरको भारतीय ट्रक दुर्घटनामा चालकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाएका चालकको शव प्रहरी पाेष्टमार्टमका लागि घोराही पठाएकाे छ।

पोष्टमार्टमका लागि शव घोराही पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रज्वल थपलियाले जानकारी दिए।

‘माथि घुम्तिबाट ट्रक तल मुसोट खोलामा खसेको छ। एक जनाको शव भेटिएको छ’, उनले भने, ‘शवको पोष्टमार्टमको लागि घोराही पठाएका छौँ।’

प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटमा भएको दुर्घटनामा ज्यान गुमाउने ट्रक चालकको नाम बलदेव सिंह रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ट्रकले रा ४ प ४१६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको  हाे।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्। लमही नगरपालिका–४ का भगवानदिन चौधरी र रञ्जना चौधरी घाइते भएको र उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस