देशभर क्वारेन्टाइनमा बस्‍ने डेढ लाख नाघे, सुदूरपश्चिममा मात्र झण्डै ५० हजार

जेठ २१, २०७७

देशैभरका बनाइएका क्वारेन्टाइनमा बस्ने मानिसको संख्या डेढ लाखभन्दा बढी पुगेको छ। यो अहिलेसम्म कै धेरै संख्या हो।

देशभर यसअघि बनाइएका क्वारेन्टाइन बेड संख्या भन्दा पनि धेरै मानिस अहिले क्वारेन्टाइनमा छन्। दैनिक क्वारेन्टाइनमा बस्ने मानिसको संख्या बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशैभरका क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ जना मानिस छन्। यीमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा छन्।

त्यहाँ आजसम्म ४९ हजार ८२० जना क्वारेन्टाइनमा छन्। त्यस्तै प्रदेश ५ मा ४१ हजार ६८३, कर्णाली प्रदेशमा ३० हजार १६६, प्रदेश २ मा २२ हजार ७०२, गण्डकीमा चार हजार ४७०, प्रदेश १ मा तीन हजार ८०० र बागमती प्रदेशमा तीन हजार २२७ जना छन्।

भारतबाट फर्किने क्रम अझै जारी रहेकाले देशैभरका क्वारेन्टाइनमा मानिसहरूको संख्या थपिने देखिन्छ।

मन्त्रालयका अनुसार देशैभर पीसीआर विधिबाट हालसम्म देशैभर ८० हजार २६७ र आरडीटीबाट एक लाख २० हजार ३७९ नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा चार हजार ९२४ पीसीआर विधिबाट र आरडीटी विधिबाट चार हजार ३४ नमूना परीक्षण भएका छन्।

नेपालमा आजसम्म संक्रमितको संख्या दुई हजार ३०० पुगेको छ। तीमध्ये ९ जनाको मृत्यु भएको छ भने २७८ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा ४८, २ मा १०९, बागमतीमा ३१, गण्डकीमा तीन, प्रदेश ५ मा ८० र सुदूरपश्चिमबाट सातजना डिस्चार्ज भएका छन्। देशका ६४ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस