क्वारेन्टाइनमा बसेकालाई याेगाभ्यास

जेठ २०, २०७७

स्याङ्जाको वालिङ नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई योगाभ्यास गराउन थालेको छ।

नगर क्षेत्रमा तीनमध्ये दुईवटा क्वारेन्टाइनमा योगाभ्यास गराउन थालिएको हो।

नगरभित्रका नागरिकलाई सुनौली नाकाबाट ल्याएर वालिङका विद्यालय/सामुदायिक भवनहरूमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ। तीनवटै क्वारेन्टाइनमा १५० जना राखिएको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए।

तीमध्ये दुई ठाउँमा योगाभ्यास गर्न थालिएको उनको भनाइ छ। पाइनिअज एजुकेशन एकेडमीमा राखिएकाहरूलाई डा. आनन्द गैह्रेले योगाभ्यास गराइरहेका छन्।

अर्को ठाउँमा पतञ्जली योग समितिले योगाभ्यास गराइरहेको नगर प्रमुख खाँणले बताए।

योग विज्ञानमा विद्यावारिधी गरेका डा. गैह्रैले क्वारेन्टाइनमा बसेकालाई योगाभ्यास अत्यन्तै महत्त्वपूर्ण हुने बताए।

“क्वारेन्टाइनमा बसेका बेला कसरी इम्युनिटी पावर बढाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ”, उनले भने, “अर्को कुरा बस्दा-बस्दा तनाव सिर्जना भइरहेको हुन्छ, त्यसैले योगाभ्यासले यी दुई कुरालाई फाइदा पुर्‍याउँछ।”

देशभरका क्वारेन्टाइनहरू संक्रमणको जोखिम बढाउने थलो बन्दै गइरहेको भन्दै चौतर्फी आवाज उठिरहेका बेला क्वारेन्टाइनमा बसिरहेकालाई योगाभ्यास गराउनु एकदमै लाभदायक हुने उनी बताउँछन्।

नेपालका क्वारेन्टाइनमा बिहान, दिउँसो र बेलुका गरी खाना दिनुबाहेक अरू केहीको पनि व्यवस्थापन गरिएको देखिँदैन। यस्तो अवस्थामा क्वारेन्टाइनमा बसेकाहरूमा तनाव सिर्जना हुन सक्छ। त्यसैले याेगाभ्यास गर्दा तनाव दूर हुने गैह्रेकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस