समानताकाे अपब्याख्या

जेठ १, २०७७

 

ब्यक्तिगत रुपमा भन्नुपर्दा सानैदेखि मेरा बाहुन र क्षेत्रीभन्दा धेरै दलित साथीहरु बने। म स्कुल पढ्दा तिनै दलित साथीहरु सँगै बस्थे। उनीहरु सँगै खेल्थे, रमाइलो गर्थे, खान्थे अनि रमाउथे । कसैले उनीहरुलाई दलित भनेर होच्च्यायो भने मन मेरो पनि दुख्थ्यो।

घरमा कहिलेकाहीँ हजुरआमाले दलितलाई घरमा नल्याउनु है बाबू भन्दा उहाँलाई खुब सम्झाउँथे। मानिस ठूलो दिलले हुन्छ जातले हुदैन। रगत सबैको रातो हुन्छ। यस्तै अनेक भनाईहरुको ब्याख्या गरिगरि सुनाउथे। स्कुलमा सरले पनि एउटै कक्षामा राखेर पढाउनुभयो।

त फलानो जात, फलानो धर्मको भनेर कहिल्यै होच्याउनु भएन। सामान्य रुपमा भन्नुपर्दा म र मेरा ती साथीहरुको पढ्ने र हुर्किने वातावरण एउटै बन्यो। स्नातक तहमा आईसकेपछी मैले आरक्षण कोटाका बारेमा थाहा पाएँ। जातकै आधारमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने रहेछ।

हजारौंको भिडमा पढ्न आउने बाहुनका लागि खुल्ला कोटा मात्र उपलब्ध हुने र सयौंको मात्रामा पढ्न आउने मेरा तिनै दलित साथीहरुलाई खुल्ला र आरक्षण गरि दुई बिकल्प हुँदो रहेछ। एउटै स्कुलमा पढेका र एउटै शिक्षकले पढाएका हामी दुई विद्यार्थी बिच पनि छुट्टाछुट्टै तरिकाले प्रतिस्पर्धा गराईने रहेछ।

जातकै आधारमा कसैले धेरै मानसिक चाप भोग्नुपर्ने र कसैले कम। जातकै आधारमा कसैले धेरै मिहिनेत गर्नुपर्ने र कसैले थोरै गरेपनि पुग्ने रहेछ। जातिय विभेदको अन्त्य हुनुपर्छ, देशमा समानता ल्याउनुपर्छ भन्ने मेरा तिनै दलित साथीहरु किन कोटा प्रणालीलाई जातिय विभेद मान्दैनन ?

आरक्षणले गर्दा बाहुन र क्षेत्रीमाथि भएको अन्याय किन बुझ्दैनन ? आज  जातकै कारणले गर्दा आफुले भनेको विषय पढ्न पाउदैन, मन परेको कलेज पढ्न पाउदैन, राम्रो जागिर पाउदैन। के समानता भनेको यहि हो ? कुनै समयमा दलितले पढ्न पाउदैनथ्यो। स्कुलमा पस्न समेत दिइदैनथ्यो।

त्यो बेला उनीहरुलाई उकास्न र दलितले पनि पढ्नुपर्छ भन्ने भावना जगाउनका निम्ति कोटा प्रणाली को व्यवस्था मिलाईयो। तर आजभोलिको स्थिति त्याे बेलाको जस्तो रहेन। दलितहरु माथि आईसके। समाजमा सबै बराबर भैसके।

अब सबै जातजातिका मानिसहरु एक आपसमा प्रतिस्पर्धा गर्न सक्ने भैसके। आफ्ना अधिकारका लागि आफैं लड्ने सक्ने भैसके। दलितहरु पनि अब नेता र मन्त्री जस्ता उच्च पदमा पुगिसके। त्यसैले देशमा समानता ल्याउने हो र जातिय विभेदलाई जरैदेखि उखेलेर फ्याँक्ने हो भने कोटा प्रणालीलाई खारेज गर्न जरुरी छ।

कुनै ब्यक्तिले पढ्न अथवा जागिर पाउने या नपाउने भन्ने चिज उस्को योग्यता हेरेर निर्धारण हुनुपर्छ जात हेरेर होईन। समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि यस्ता कयौं कुप्रथा को अन्त्य हुनुपर्छ। सबै जातजाती बिच समान अधिकार बाडिनुपर्छ। उनिहरु बिच आपसी मेलमिलाप कायम हुनुपर्छ। दुई ब्यक्तिलाई जात हेरेर होईन, सहि र गलत अथवा योग्य र अयोग्य भनेर छुट्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस