ग्राहक आफैँले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

जेठ १, २०७७

 

१८ जेठ, काठमाडौं । कोभिड-१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई अनलाइनमार्फत् आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ ।

इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्रि नम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस प्रणालीमार्फत् मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहेँलो पटक रजिस्ट्रेसन गर्नुपर्नेछ। रजिस्ट्रेसन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नुपर्नेछ ।

पहिलोपल्ट लगइन गरिसकेपछि रजिस्ट्रेसन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिनेछ । त्यसपछि एड कन्जुमर बटम (Add Consumer Bottom) क्लिक गरी खुल्ने कन्जुमर रजिस्ट्रेसन फारममा (Consumer Registration Form) दिइएको निर्देशनानुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्नेछ ।

पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्नेछ ।

मिटरको अंक देखिनेगरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिनेछ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने। महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ।

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ ।

प्राधिकरण कम्प्युटराइज्ड विलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिस्ट्रेसन गराएका छन् । आठ हजार ग्राहकले आफैँ आफ्नो विद्युत मिटरमा चढेको अंक प्रणालीमा राखी समयमै रिडिङ गराई अनलाइनमार्फत् महसुल भुक्तानी गरी छुट सुविधा लिएका छन्।

प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन दुई वर्षअघिदेखि अनलाइनमार्फत विद्युत महशुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल सात लाखभन्दा बढी ग्राहले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस