पहिलाे पटक कालिकोटमा १७ जनालाई कोरोना संक्रमण

जेठ १८, २०७७

कालिकोटमा पहिलो पटक १७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय भारतबाट फर्किएपछि कालिकोटको तिलागुफा नगरपालिकास्थित सत्यदेवी मावि जुवीथामा रहेको क्वारेन्टाइनमा बसेका १७ जनालाई कोरोना पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार भएको पिसिआर जाँचबाट कालिकोटका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुन मगरका अनुसार जिल्लामा हालसम्म जम्मा १ हजार ३ सय ८१ ज्ना कोरोना शंकास्पद मानिसहरुको स्वाब संकलन गरिएको छ ।
९ वटै स्थानीय तहबाट शनिबारसम्म कोरोना परीक्षणका लागि १ हजार ३ सय ८१ जनाको स्वाब संकलन गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतका अनुसार स्वाब संकलन गरिएका मध्ये ७ सय ३५ जनाको कोरोना शंकास्पद मानिसहरुको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।

सूचना अधिकारी महतका अनुसार २ सय ७१ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण भइरकेको छ भने ३ सय ७५ जनाको स्वाब शनिबार परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको छ । उनका अनुसार पछिल्लो समय भारतबाट आएका र क्वारेन्टाइनमा राखिएका ६ सय ४६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ९ वटै स्थानीय तहमा भारतबाट आएका १ हजार ३ सय ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट करिव साडे ९ हजार बढी मानिसहरु जिल्लामा भित्रिने अनुमान गरिएको छ । दिन प्रतिदिन भारतबाट आउने मानिसहरुलाई लक्षित गर्दै क्वारेन्टाइनको संख्या बढाउने तयारी भइरहेको छ । जिल्लामा हालसम्म ५ सय २९ जनाको ¥यापिड टेस्ट गरिएको छ । ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस