टरिगाँउ बिमानस्थलः के सम्भावनाको अन्त्य नै भएको हो ?

विचार

जेठ १६, २०७७

योगेश भट्टराई संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए लगत्तै दाङ्गको केही सभासदहरुको टोली उहाँलाई मन्त्रालयमा भेट्न गयो । संयोगले म पनि काठमाडौ भएकै कारण त्यो भेटमा सहभागी हुने अवसर पाए । विषय प्रवेश उनी आफैले गरे “टरिगाउँ विमानस्थलको कुरा होला, मेरो मेयर साप (घनश्याम पाण्डे) सँग कुरा भएको छ । यो पटकको वजेटमा काम गर्ने कुरा छ ।

अझ त्यहाँ उडान स्कुल पनि वनाउन सहज छ भन्ने सुनेको छुँ , त्यसको लागि पनि मैले केही कुरा अगाडि वढाएको छुँ । ” वहालवाला मन्त्रीले यति भनिसकेपछि थप प्रश्न खडा गर्नुपर्ने कुनै पनि अर्थ थिएन र भएन पनि । सबै सभासदहरुको अनुहार उज्यालो भयो । “तपाई पत्रकार हुनुहुँदो रहेछ यो कुरालाई तत्काल मिडियामा नल्याउनुहोला कतै केही विग्रन सक्छ” उनले मलाई इङ्गित गर्दै भने , मैले पनि त्यही गरे ।

टरिगाँउ विमानस्थल साना दुखले सञ्चालन भएको होइन ।

केही विमानस्थलका नाममा ढिक्का वजेट विनियोजन भएको र त्यसमा टरिगाउँ विमानस्थलको पनि नाम परेको थियो । मन्त्रीले नै यति बोलीसकेपछि ढिक्का बजेटको एक टुक्रो टरिगाँउमा आइपुग्नेमा कुनै सन्देह थिएन । तर नयाँ वजेट भाषण फेरी भयो तर गतवर्षको वजेटमा टरिगाउँमा काम अगाडि वढेन ।

टरिगाँउ विमानस्थल साना दुखले सञ्चालन भएको होइन । यस क्षेत्रका समाजसेवी, व्यवसायी राजनीतिज्ञ लगायतकाहरुको पसिना मात्रै होइन पैसा पनि लगानी भएको छ । पछिल्लो समय पनि त्यही लगानीका कारण विमानसेवा सञ्चालन भएको हो । यसमा स्थानीय सरकार जोडिएको छ । प्रदेश र संघ सरकारबाट विमान सञ्चालन नियमित हुन सक्दैन भन्ने कटाक्ष बाहेक केही लगानी छैन ।

२०११ सालमा स्थापना भएको विमानस्थल अहिले पनि यति यात्रु हामीले जिम्मा लिन्छौ विमान चलाउनुहोस् भन्ने ठेक्का शैलीबाट सञ्चालन गर्नुपरेको छ । यो भन्दा विडम्वना सायद केही हुन सक्दैन । पछिल्लो पटक २०७५ असोजबाट यो क्रम चलिरहेको छ ।
नगरप्रमुखको प्रेस संयोजकका हिसाबले केही समय म आफैले पनि विमानसेवा सञ्चालनका विभिन्न घटनाहरुलाई नजिकबाट नियालिरहेको छुँ । केही महत्वपूर्ण घटनाको साक्षी समेत हुने अवसर पाएको छुँ ।

हाल दिवँगत भएका मन्त्री रविन्द्र अधिकारीलाई विमानस्थलमै टेन्ट टाँगेर कार्यक्रम गरेको सातादिन मै विमानस्थल सञ्चालनमा आएको थियो । सातामा २ दिन त्यो पनि तुलसीपुरका यात्रु भेटिदैनन् भन्ने सोचले भैरहवामा ट्रान्जिट वनाएर आउने र जाने गर्दथ्यो । तर एक महिना पनि नपुग्दै भैरहवाको ट्रान्जिट रोकियो र तुलसीपुर नै विमान सिधै आउने भयो ।

१० लाख डिपोजिट समेत राखेको भएपनि अहिलेसम्म त्यो पैसा जस्ताका तस्तै रहेको छ ।

यहाँका मान्छे हवाइजहाज चढ्दैनन भन्ने काठमाडौको भ्रम अनुत्तिर्ण भएपछि सातामा दुइदिन जहाज “फुल भोलुम”मा उड्न थाल्यो । मलाई अझै याद छ जहाज यतिधेरै प्याक हुन्थ्योकी तत्कालिन सभामुख कृष्णवहादुर महराले दाङ्ग आउने सेड्युल २ हप्ता अगाडि वनाउनुपथ्र्यो ।
जहाज सञ्चालन भएको २ महिनासम्म पनि नेपाल वायुसेवा निगमले केही दिनलाई त होला भन्ने मानिसकताका कारण कर्मचारी समेत पठाएको थिएन ।

नगरपालिकामा पैसा जम्मा गरेर भैरहवा पठाएपछि त्यहाँबाट टिकट आउथ्यो अनि नगरपालिकाका कर्मचारी गएर वोर्डिङ्ग गरेपछि जहाज उड्थ्यो । आउने र जाने १२ जना भन्दा कम भएपछि उपमहानगरपालिकाले नै पैसा व्यहोर्ने सम्झौतामा उल्लेख गरेर १० लाख डिपोजिट समेत राखेको भएपनि अहिलेसम्म त्यो पैसा जस्ताका तस्तै रहेको छ ।

सातामा दुइदिन सानो जहाज चलाउँदा पनि भैरहवा ट्रान्जिट वनाउनुपर्छ भन्ने मानसिकताका विचमा सञ्चालन भएको विमानस्थलमा विस्तारै सातामा तिनदिन विमानसेवा सञ्चालन हुन थाल्यो । क्रमशः सातै दिन सञ्चालन भयो । चाप वढ्दै जाँदा अहिले दैनिक २ पटक विमानसेवा सञ्चालन भइरहेको छ । एकैदिन दुइवटा विमानसञ्चालन हुँदा पनि ३ दिन अगाडि नै टिकट काट्नुपर्ने अवस्था छ । यसले जनाउँछ हामीलाई विमानसेवाको आवश्यकता कति छ भनेर ।

भैरहवा र नेपालगञ्जमा कुहिरो लागेर ठूला आकारका जहाज चल्न नसक्ने अवस्थामा साना आकारका जहाजहरु तुलसीपुर विमानस्थलमा बसिरहेका छन् ।

टरिगाउँ विमानस्थल सञ्चालनका लागि उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाबाट समेत अनेक प्रयासहरु भए र अहिले पनि भइरहेका छन् । मन्त्री भट्टराइलाई विमानस्थल अवलोकन गराउँने मात्रै होइन अन्य उच्च पदस्थ व्यक्तिहरुलाई समेत विभिन्न माध्यमबाट कुरा बुझाउने काम भयो । अनेक प्रयासको बेवास्था गर्दै अचानक टरिगाउँ विमानस्थललाई कुनै पनि सम्बोधन नगरेर नयाँ आर्थिक वर्षको वजेट आयो । अझ त्यसमा वन्नका लागि वर्षाै समय लाग्ने नारायणपुर विमानस्थललाई मात्रै सम्बोधन गरियो ।

भैरहवा र नेपालगञ्जमा कुहिरो लागेर ठूला आकारका जहाज चल्न नसक्ने अवस्थामा साना आकारका जहाजहरु तुलसीपुर विमानस्थलमा बसिरहेका छन् । यस्तो उपयुक्त विमानस्थल कसरी प्राविधिक रुपमा अनुपयुक्त भयो ? के अब तुलसीपुर विमानस्थललाई गौचरण नै वनाउने त ?

नारायणपुरमा विमानस्थल वन्नु विरोधको कुरा अवश्य पनि होइन । तर जिल्लामा केयौ आवश्यकताका अन्य कुरा हुँदाहुँदै पनि भएको विमानस्थल वन्द गर्नुकाे  प्रयोजन सिद्ध नगरेर अर्को विमानस्थल वनाउन खोज्नु दुरासयतापूर्ण कुरा हो । टरिगाउँ विमानस्थलमा भर्खरै टर्मिनल भवन वनेको छ । अन्य नयाँ योजनाहरु अगाडि वढेका छन् ।

नारायणपुरमा विमानस्थल वन्ने भनेपछि तुलसीपुरको अवश्य पनि वन्द गर्नुपर्ने होला । यदि बन्द नै गर्ने हो भने निक अनावश्यक लगानी वढाउने ? किन अनेक थरी आश्वासन बाँडिरहने ? किन यहाँका जनताको मनमा आशाको दियो बालिरहने ?

विशेष गरेर यहाँका प्रतिनिधिहरुले के गरिरहेका छन् ? यो कुरालाई कसरी संसदमा उठाउछन् ?

प्राविधिक हिसाबले तुलसीपुर विमानस्थल वन्नै सक्दैन भन्ने हो भने त्यसलाई सिद्ध गर्नुपर्यो । होइन भने भएको विमानस्थललाई अलपत्र पारेर एकै ठाउँमा दुइ विमानस्थलको कुरा गरिनु न्यायपूर्ण होइन ।

केही सिमित नेताको स्वार्थका कारण भएको विमानस्थल अलपत्र परिनु हुँदैन । तुलसीपुर विमानस्थलको विकल्प के ? यो क्षेत्रियताको लडाइभन्दा पनि अस्तित्वको लडाइ हो । ११ सालदेखि विमानसेवा सञ्चालन हुँदै आएको ठाउँमा अचानक किन प्राविधिक समस्या देखाएर सेवा वन्द गर्न थालियो ? यसको जवाफ माग्ने अधिकार यहाँका जनतामा अवश्य पनि छ ।

विशेष गरेर यहाँका प्रतिनिधिहरुले के गरिरहेका छन् ? यो कुरालाई कसरी संसदमा उठाउछन् ? जनता टेलिभिजनको स्क्रिनमा आँखा टाँसेर वसेका छन् ।

प्रतिक्रिया दिनुहोस