कोरोना जिति फर्की आए….

जेठ १४, २०७७

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का विनोद वली (नाम परिवर्तन) बहिनी जुवाईको उपचारका लागि काठमाडौ गएका थिए । ज्याला मजदुरी गरेर जीवन चलाउने उनी उपचारका लागि लामै समय त्यहाँ बसे । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकामा संक्रमण देखिएपछि त्यही अस्पतालमा रहेका वलीको स्वाब लिइयो ।

स्वाब लिएको २ दिनमै उनलाई केही काम छ भन्दै पाटन अस्पताल लगियो । ‘लुगा पनि लैजान दिइएन अस्पताल पुगेपछि एकाएक मलाई कोरोना भएको भन्ने सुन्दा मन झसङ्ग भयो ’ उनले भने । बहिनी जुवाइलाई सहयोग गर्न गएका वली आफै पिडामा परे । केही दिन त उनलाई मर्छु जस्तो लाग्यो तर पनि आफुजस्तै अरुलाई देखेपछि उनको मनमा केही साहस पलायो । ‘रिपोर्टमा कोरोना संक्रमित भनिएपनि मलाई त्यस्तो कुनै लक्षण नै थिएन’ उनले भने ।

कोरोना संक्रमण भएको खवर पहिलो पटक सुनेपछी उनलाई घरका साना साना छोराछोरीको याद आयो । ‘मर्छु जस्तो लागेपछि छोराछोरीको याद आउँदो रहेछ ’ उनले भने । नौ दिन उनका लागि नौ वर्ष जस्तो लाग्यो ।

‘निको भएको समाचार सुनेपछि मनमा केही आश जागेको थियो ’ उनले भने । ३ गते कोरोना संक्रमित भएको खवर पाएका उनले १२ गतेसम्म ३ पटक चेकजाँच गर्दा नेगेटिभ भन्ने खबर पाए । ‘हल्ला धेरै भएपनि निको हुने रोग रहेछ नौ दिनमै म ठिक भए ’ उनले भने ।

अस्पतालबाट निस्किएपछि कहाँ जाने ? के गर्ने ? उनीसँग योजना पनि थिएन अनि साथमा केही पनि थिएन । जुन लुगा लगाएर आइसोलेसनमा गएका थिए ,त्यही लुगा लगाएर उनी क्वारेन्टाइनबाट निस्किएका थिए ।

आफै जन्मिएको , हुर्किएको घरमा जान पनि किन किन पाइला अगाडि बढ्नै मानेनन्

उनको मनमा अनेक कुरा खेलेपछि सम्झिए स्थानीय सरकारलाई । उनीसँग नगरप्रमुख घनश्याम पाण्डेको नम्वर थियो । सिधै नगरप्रमुखलाई फोन गरे । ‘त्यहाँबाट अनेक प्रयास भए, मैले उहाँहरुले व्यवस्थापन गरेका गाडीहरुलाई फोन गरे तर संक्रमणबाट निको भएको भनेपछि फोन नै अफ भयो ’ उनले भने । निको भएको मान्छे भन्दा पनि कसैले उनलाई लिन मानेनन् ।

अन्ततः तुलसीपुर उपमहानगरपालिकाबाट एम्बुलेन्स नै उनलाई लिनका लागि पठाइयो । एम्बुलेन्सबाट उनी वुधबार तुलसीपुर आए ।
‘घरमा सिधै जान गाह्रो लाग्यो,नगरपालिकाका सरहरुसँग कुरा गरेर रक्षाचौर क्वारेन्टाइनमा केही समय बसे ’ उनले भने ‘आफै जन्मिएको , हुर्किएको घरमा जान पनि किन किन पाइला अगाडि वढ्नै मानेनन् ’उनले दुख व्यक्त गरे ।

घर कसरी जाने भन्ने द्विविधाका विचमा १ वजे नगरप्रमुख पाण्डे फुलको माला वोकेर उनलाई सम्मान गर्न पुगे । ‘कोरोना जित्नुभएकोमा तपाईलाई धेरै धेरै वधाई छ ’नगरप्रमुख पाण्डेले भने ।

नगरप्रमुख नै स्वागतका लागि आएपछि उनमा खुसीको वहार नै देखियो । ‘उहाँले नै स्वागत गरेको थाहा पाएपछि गाउँमा केही भन्दैनन् कि ?’ उनमा आत्मविश्वास वलियो भयो । त्यसमा झन् थपिए वडाध्यक्ष बालकृष्ण राना । उनले पनि ढाडस दिए ‘ गाउँमा केही हुन्न सबै कुरा म मिलाउँछु’ हप्तौपछि उनको अनुहार उज्यालो भयो ।

घरमा गएर उनी दिन एक्लै कोठामा वस्नेछन् ‘मान्छे पो आफ्नो हुन्छ रोग कसरी आफ्नो हुन्छ र ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस