प्रदेश-५ मा कोरोना संक्रमितको संख्या ३३० नाघ्यो, कुन प्रदेशमा कति संक्रमित ?

जेठ १३, २०७७

नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण दर बढ्दै गएको छ। मंगलबार एकैदिन ९० जनामा कोभिड-१९ पोजेटिभ देखिंदै संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।

संक्रमितमध्ये हालसम्म १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ। प्रदेश-५ मा दुई जना, प्रदेश-२ मा एक जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको हो। अब ६ सय १३ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

संक्रमितहरुको स्थायी ठेगाना रहेको जिल्लाको संख्या ४६ पुगेको छ। मंगलबार मात्रै स्याङ्जा, जुम्ला र अर्घाखाँचीका व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिंदै थप तीन जिल्ला यो सूचीमा थपिएका छन्।

प्रदेशगत आधारमा हेर्दा कोरोनाभाइरस संक्रमितको संख्याको दृष्टिले प्रदेश-५ सबैभन्दा प्रभावित देखिएको छ। हालसम्म प्रदेश-५ का आठ वटा जिल्लामा गरी ३ सय ३१ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवक र गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको छ।

मंगलबार मात्रै प्रदेश-५ को कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्।

प्रदेश-५ पछि कोरोना संक्रमणबाट बढी प्रभावित प्रदेश-२ का आठ वटै जिल्लामा गरी २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये बारा कलैयाका ७० वर्षीय एक जनाको मृत्यु भएको छ।

प्रदेश-१ का ७ जिल्लामा हालसम्म ८६ जना संक्रमित देखिएका छन्। उक्त प्रदेशको उदयपुर जिल्ला संक्रमणबाट बढी प्रभावित देखिएको छ। यस्तै, बागमती प्रदेशका ११ जिल्लामा ३८ जना संक्रमित भएकोमा संक्रमणका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भएको छ।

उता, कर्णाली प्रदेशका तीन वटा जिल्लामा २५ जनामा संक्रमण देखिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना र गण्डकी प्रदेशका ४ जिल्लामा ७ जना संक्रमित पुष्टि भएका छन्।

कुल संक्रमित ७ सय ७२ मध्ये ६ सय ८८ पुरुष छन् भने महिला तथा बालिकाको संख्या ८४ छ।

प्रतिक्रिया दिनुहोस