अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान , के हो घटना ?

जेठ १२, २०७७

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारी अुनसार जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना १७ जना साथीसहित १० जेठ बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँ पुग्छन्। त्यहाँ उनकी मल्ल थरकी १७ वर्षीया प्रेमिकाको घर छ। र, नवराजलाई ‘आफूलाई भगाएर लैजान’ भनेर उनैले बोलाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठका अनुसार नवराजले आफ्ना साथीहरूलाई ‘केटी भगाउन’ जाने भन्दै फोन गरेर बोलाएका थिए। त्यसपछि नवराजसहित जाजरकोटबाट १८ जना युवा सोती पुगे। नवराज यसअघि पनि पटकपटक केटीको घर पुगेर आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तर, यसपटक नवराजले न ‘केटी भगाउन’ पाए, न आफू सकुशल फर्किन पाए। केटीका आफन्त र गाउँलेले लखेटेपछि भाग्दै गर्दा भेरी नदीमा हेलिएका नवराजको मृत्यु भयो। उनको शव जाजरकोटको भेरी नगरपालिका-४ धल्लास्थित भेरी नदी किनारमा १० जेठ राति भेटिएको थियो।

उनीसँगै भेरीमा हाम्फालेका चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको पनि ११ जेठ साँझ शव भेटिएको छ। भेरी नगरपालिका-४ का गणेश विक, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक भने अहिलेसम्म सम्पर्कविहीन छन्।नवराजसँगै गएका बाँकी १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, चौरजहारीको जिम्मा लगाएका थिए।

केही समय पहिले केटीका बुवा र नवराजबीच जातीय कुरालाई लिएर फोनमा चर्काचर्की परेको भन्ने आफूले सुनेको उनले बताए। तर, अहिलेको घटना चाहिँ अन्तरजातीय विवाहको विषयलाई लिएर नभएको केटी पक्षका एक आफन्तले बताए।

उनीहरूलाई गाउँलेले कुटपिटसमेत गरेका छन्। तर, घटनास्थलमा तत्कालै प्रहरी पुगेपछि झडपले ठूलो रूप लिन पाएन। इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, प्रहरी निरीक्षक धर्मसिंह बिष्टका अनुसार गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएकामध्ये सुदिप खड्का र अर्का एकजना घाइते छन्। घाइतेको चौरजहारीस्थित् मिसन अस्पतालमा उपचार भइरहेको छ।

“घाइतेमध्ये सुदिप खड्कालाई अलि बढी नै चोट देखिएको थियो। सायद, दुवैजना आजै डिस्चार्ज हुन्छन् होला”, इन्स्पेक्टर बिस्टले  भने, “बाँकी १० जना युवालाई जाजरकोट प्रहरीको जिम्मा लगाएका छौँ।”

जाजरकोट प्रहरी प्रमुख, डीएसपी श्रेष्ठले ती युवाहरूलाई प्रहरीले बोलाएको बेला सम्पर्कमा आउनेगरी आफन्तको जिम्मा लगाइएको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केटी लिन भनेर गएका केटाहरूलाई गाउँलेले नदी किनारसम्मै लखेटेको र भाग्ने क्रममा ६ जनाले भेरी नदीमा हाम्फालेको खुल्न आाएको डीएसपी श्रेष्ठले बताए।

“गाउँलेहरूले उनीहरूलाई नदी किनारसम्म लखेटेको भनेका छन् (प्रहरी सम्पर्कमा आएका युवाले),  भेरीमा हाम्फालेकामध्ये दुई जनाको शव भेटिएको छ, बाँकी चारजना सम्पर्कविहीन छन्”, डीएसपी श्रेष्ठले  भने, “उनीहरू पौडिएर कतै लुकेर बसेका छन् वा नदीमा वेपत्ता भए भन्ने खोज्दैछौँ। मोबाइल ‘ट्रयाक’ पनि गरिरहेका छौँ। कसैको अस्ति राति साढे सात बजे, कसैको नौ बजे  ‘डिट्याच’ भएको छ।”

सम्पर्कविहीन भएकालाई खोज्न भेरी नदी आसपासमा प्रहरी परिचालन गरिएको छ। फेला परेका दुवै शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ। मृतक नवराजका आफन्तले केटी पक्षले नवराजको हत्या गरेको आरोप लगाएका छन्। यद्यपी, उनीहरूले अहिलेसम्म जिप्रका जाजरकोट वा इप्रका चौरजहारीमा जाहेरी भने दिएका छैनन्।

डेढ वर्षदेखि प्रेम, यसअघि पनि असफल भएको थियो भगाउने प्रयास

भेरी नगरपालिका-४ का नवराज र चौरजहारी नगरपालिका-८ की ती किशोरीबीच डेढ वर्ष पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको केटाका साथी र आफन्तले प्रहरीसमक्ष बताएका छन्।

नवराजका आफन्तका अनुसार किशोरी यसअघि केही पटक केटाको घरमा समेत आएर फर्किएकी थिइन्। केटाका बाबुआमाले ‘जात नमिल्ने’ भन्दै ती किशोरीलाई टाढा हुन भनेका थिए। सम्झाई बुझाई गरेर पठाएका थिए।

“तिमी ‘ठूली जातकी’, हाम्रो जात मिल्दैन। हामी गरीब छौँ, केटाको केही जागिर पनि छैन, नानी छोडिदेउ भनेर केटाका बाबुआमाले एकवर्ष अघि नै केटीलाई सम्झाएका रहेछन्” मृतक नवराजका एकजना छिमेकीले भने।

तर पनि उनीहरूबीचको प्रेम सम्बन्ध रोकिएन। नवराज पटक पटक केटीको घरमा आउजाउ गर्न थाले। केटाकेटीबीच नियमित फोन सम्पर्क भइरह्यो। जसबाट केटीपक्ष असन्तुष्ट थिए।

यसअघि केही महीना पहिले नवराज आफ्ना तीनजना साथीसहित आफ्नी प्रेमिकालाई ‘भगाउन’ सोतीगाउँ पुगेको खुलेको छ। इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, इन्स्पेक्टर बिस्टका अुनसार त्यतिबेला पनि उनीहरूलाई केटी पक्षका आफन्तको अनुरोधमा नियन्त्रणमा लिइएको थियो। केटीपक्ष र उनीहरूबीच विवाद भएको थियो।

एक रात इप्रकामा राखेपछि भोलिपल्ट वडाध्यक्ष डम्बरबहादुर मल्लको रोहवरमा युवाहरूलाई आफन्तको जिम्मा लगाइएको थियो।

“उहाँहरूले मौखिक उजुरी गरेपछि सोती गाउँबाट उनीहरूलाई (नवराज र उनका साथी) नियन्त्रणमा लिएका थियौँ”, इन्स्पेक्टर बिस्टले भने, “भोलिपल्ट बिहान वडाध्यक्षसँग फोनमा कुरा भयो। यसलाई धेरै नलम्ब्याउँ, केटाहरूलाई आफन्तको जिम्मा लगाइदिनुस् भनेपछि हामीले छोडेका थियौँ।”

त्यतिखेर उनीहरूलाई छोड्दा ‘आइन्दा केटी लिन नआउने’ भनेर मौखिक सहमति गराइएको बुझिएको छ।

वडाध्यक्षसहित पाँचजना नियन्त्रणमा

घटनापछि प्रहरीले चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बाबु र आमासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको इक्सपेक्टर बिस्टले बताए। थप केही व्यक्तिलाई नियन्त्रणमा लिन आज प्रहरी परिचालन गरिएको उनले बताए।

केटीपक्ष भन्छन्ः घटना जातीय कारणले भएको होइन

केटी पक्षका आफन्तले भने घटना जातीय कारण नभएको बताएका छन्।

अघिल्लोपटक प्रहरीको जिम्मा लगाउँदा नवराज घरेलु हतियार (चक्कु)सहित आएका उनीहरू बताउँछन्। त्योबेला हतियारसहित आएपछि प्रहरीको जिम्मा लगाएको एक आफन्तले बताए। त्यसपछि पनि नवराज केटीको घरमा आउजाउ गर्न छाडेका थिएनन्।

केही समय पहिले केटीका बुवा र नवराजबीच जातीय कुरालाई लिएर फोनमा चर्काचर्की परेको भन्ने आफूले सुनेको उनले बताए। तर, अहिलेको घटना चाहिँ अन्तरजातीय विवाहको विषयलाई लिएर नभएको उनले बताए।

नवराज अघिल्लोपटक विवाद परेका युवकलाई खोज्दै झगडा गर्ने उद्देश्यले साथीहरू लिएर आएको गाउँलेको आरोप छ। उक्त कुरा थाहा पाएपछि केटीकी आमाले गाउँलेलाई खबर गरेको र त्यसपछि घटना भएको बताइन्छ। गाउँमा भलिबल खेलिरहेका १९/२० वर्षका युवासहित गाउँलेको समूहले नवराजको समूहलाई लखेटेको आफूलाई जानकारी आएको उनले बताए।

गाउँलेको लखेटाइपछि भाग्ने क्रममा केही युवाले नदीमा हाम्फालेको र बाँकी १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनी बताउँछन्। तर, नवराजलाई हत्या गरेर फालिएको भन्ने कुरा निराधार रहेको ती गाउँलेले बताए।

एक्लो छोरा थिए नवराज, प्रहरी बन्‍ने सपना अधुरै

नवराजको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँछन्। उनी घरका एक्ला छोरा थिए।

उनकी दुई दिदी र एक बहिनीको विवाह भइसकेको छ।

नवराजको प्रहरीमा जागिर खाने सपना थियो। सोही अनुसार उनले आवेदन समेत दिएका थिए।

प्रहरी जवानको परीक्षामा लिखितसम्म पास गरेका उनको लकडाउनका कारण मौखिक परीक्षा हुन सकेको थिएन। लकडाउन नभएको भए र मौखिक परीक्षामा उत्तीर्ण भएको भए नवराज यतिबेला प्रहरीको तालिममा हुन्थे। तर, उनको प्रहरी बन्ने सपना अब कहिल्यै पूरा नहुनेगरी समाप्त भएको छ।

नेकपाले बनायो छानबिन समिति

घटनाको छानबिन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम रुकुमले प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पुष्प वादी र रुकुम पश्चिम जिल्ला कमिटी सदस्य भीमा थापा रहेका छन्। समितिले घटनाको बारे निष्पक्ष छानबिन र अनुसन्धानका लागि स्थानीय प्रशासनलाई सघाउने नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले बताए। नेकपाले दोषीलाई कडा कारबाही गर्न माग पनि गरेको छ।

यसैबीच, विभिन्न अधिकारकर्मीहरूले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। नेपाल दलित मुक्ति संगठन प्रदेश ५ का सहइञ्चार्ज एवं नेकपा प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा, नेपाल दलित मुक्ति संगठन बाँकेका इञ्चार्ज रामकृष्ण बिक, गैरसरकारी संस्था महासंघ प्रदेश ५ का उपाध्यक्ष धर्मलाल रोकायालगायत ११ जना अधिकारकर्मीले ११ जेठ बेलुकी विज्ञप्ति निकालेर घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस