प्रेमिका लिन पुगेका प्रेमीकाे रूकुममा हत्या

जेठ ११, २०७७

तुलसीपुर – शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको आक्रमणपछि बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ६ युवामध्ये एक जनाको शव सल्यानस्थित भेरी नदीको किनारमा भेटिएको छ।

नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर शनिबार साँझ चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए।

प्रहरीले समूहका १२ जनालाई नियन्त्रणमा लिएपनि ७ जना बेपत्ता देखिएपछि शनिबार राति नै खोजी सुरु गरेको थियो। राती साढे १० बजे प्रेमी भनिएका नवराजको शव घटनास्थलबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको भेरी नदीको पुलमुनि भेटिएको थियो।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन्। युवतीको सरसल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको जनाइएको छ। प्रदेश-६ प्रहरी प्रमुख बसन्तराज पन्तले बेपत्ता अन्य पाँच जनाको पनि खोजी कार्य जारी रहेको बताए। दुई वटा शव भेरी नदीमा भेटिएकाले नदीलाई केन्द्रित गरी प्रहरीले खोजी अगाडि बढाएको छ।

‘खोलामा आफैँ हाम फालेका हुन् कि उनीहरुलाई खोलामा फालिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ’, पन्तले भने। पश्चिम रुकुम प्रहरीले केटा पक्षका सबैलाई जाजरकोट प्रहरीलाई बुझाएको र केटी पक्षलाई बोलाएर सोधपुछ भइरहेको जनाएको छ।

‘हामीले हालसम्म कसैलाई पनि पक्राउ गरेका छैनौँ। केटीका बाआमा र स्थानीय जनप्रतिनिधिलाई आज बोलाएर सोधपुछ गरिएको छ’, पश्चिम रुकुमका एक प्रहरी अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस