जातले होइन मेहेनतले बन्छ मान्छे

अनुभुती

जेठ १०, २०७७

मानिसमा भिन्नाभिन्नै किसिमको दृष्टिकोण हुँदोरहेछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा रहेको मावि बालापुरमा २ वर्ष फेलोसिपमा पढाउँदा मलाई नयाँ खालको अनुभुति भयो । कहिलेकाही शनिबार पारेर म विद्यार्थीको अवस्था बुझ्न उहाँहरुको घर जाने गर्थे ।
त्यतिखेर एउटा आमाले सोध्नुभयो “नानी तपाईको थर के हो ?”

मैले भने “आमा म क्षेत्री हूँ ।”

आमाले फेरी भन्नुभयो “क्षेत्रीहरु त राम्रै हुन्छन् नानी त्यही भएर तपाईको व्यवहार पनि राम्रो भएको होला ।” आमाले फेरी भन्नुभयो “हेर नानी यो टोलमा बस्ने बाहुन क्षेत्री त राम्रै छन् तर चौधरीहरु त खत्तम छन् , झन् दलित भनाउँदाहरूको त के कुरा गर्नु ? ”

आमाले यसो भन्दै गर्दा एउटा दलित बहिनी र व्राह्मण बहिनी म सङ्गै गएका थिए । मलाई त्यो दलित बहिनीको मनमा के बितिरहेको होला भन्ने कुराले मन भतभती पोलिरहेको थियो । मैले त्यतिखेर बोल्न उचित ठानिन । त्यसैले आमालाई बहिनीको घरमा पढाइ कस्तो छ भनेर औपचारिकता निभाएर निस्कन खोजे । आमाले “पानी त पिएर जानुस्” भन्नुभयो ।

मैले त्यो आग्रलाई अस्विकार गर्न सकिनँ । आमाले सम्मानका साथ सोफामा बस्न आग्रह गर्नु भयो । मैले २ ओटै बहिनीहरूलाई सङ्गै बोलाए । बहिनीहरू पनि सङ्गै बसे आमाले गिलासमा मलाई पानी दिनै लाग्दा आमाले तल चकटी हालेर एकजना दलित बहिनीलाई “नानी त तल बस् त मिसलाई पानी दिनुपर्यो” भन्नुभयो ।

आमाको सुरुको कुरादेखि नै मेरो पानीको प्यास सबै मेटिसकेको थियो झन् उनीलाई तल बसाउदा त हातले समात्न आँटेको गिलास समात्दा पनि प्यारालाइसस भएको बिरामीको हात कापेको झै मेरो हात थर्थरी काप्यो । साँच्चै भन्नुपर्दा मैले एक घुट्को भन्दा वढि पिउँन सकिन ।

तल बसेको बहिनीको अनुहारमा आँखा जुधाएर हेर्न पनि सकिन, त्यसैले मैले आमालाई “आमा मलाई आज यिनै बहिनीले खाना पकाएर खुवाउने भनेकी छिन् हामी जान्छौ है” भनेर निस्किए । आमालाई यो वाक्यले जवाफ दिन बाहेक अरु मैले केही भन्न उचित ठानिनँ । एकैछिन अगाडि २ जना बहिनीहरू कति मजाले हाँस्दै , पढाएका कुरा गर्दै , जीवनको लक्ष्य को कुरा गर्दै आएका थिए अब हिँड्दा २ जना सरासर हिँडे ।

त्यो देखेर मेरो मिलियन भन्दा बढी मस्तिष्कमा रहेका न्युरनहरू एकाएक जामबाट छुटेका सवारी साधनहरू जस्तै गरी दौडन थाले ।
आमाले सुरुमा भनेको कुरा र बहिनीलाई एक्कासी माथिको ठाउँदेखि तल वसाउँदा उनको अनुहारमा आएको परिवर्तन मेरो अनुहार अगाडि झलझली आउन थाल्यो ।

दाङको तातो घामले जिउ भतभती पोलीरहेको थियो तर पनि प्रवाह भएन । मस्तिष्कको ३ ओटै भाग बराबरी चल्न थाल्यो । मस्तिष्कले एक एक गरी प्रश्न गर्न थाल्यो समाजले दिने शिक्षा के हो ? स्कूलले दिएको शिक्षा के हो र केका लागि दिइन्छ ? समाज भनेको तेस्रो घर , तेस्रो घरको सदस्यले नै यसरी सिधै डस्छन् भने झन् अरूलाई के सोच्ने ?

म यस्तै प्रश्नहरू खेलाउँदै हिँडिरहेको थिएँ , हिँड्दा हिँड्दै बहिनीको घर र मेरो कोठामा फर्किने बाटो आयो । एकछिन अघि मात्र तीनै बहिनीले “मिस आज त हजुर जसरी भएपनि मेरो घर जानुपर्छ है ” भन्दै खुसीका रेसमहरु फिँजाएकी थिइन् । अगाडिको घटना पश्चात उनले मेरो अनुहारमा हेरेर घर जाउँ भन्न सकिनन् ।

यसरी आफ्नै समाजका व्यक्तिले गर्दा तिनी बहिनीको आत्मविश्वास स्वात्तै घटेको देख्दा म भावविभोर भएँ । मनमनै सोचें यो समस्या यो ठाउँको मात्र हैन यसले नेपालभरि ठूलो जरो गाडेको छ । यस्ता जराहरुलाई उखेल्न एकैपटक धारिलो हतियार हैन कि हतियार तिखार्दै लगाउनुपर्छ भन्ने सम्झेर म खुरुखुरु बहिनीको घर गएर खाना खाएर आए ।

मलाई फेरि त्यही आमाको घरमा पुगेर “आमा मैले बहिनीको हातले पकाएको खाना खाएर आए ” भन्न मन थियो तर जवाफले भन्दा गरेको कार्य दिगो हुन्छ भनेर कोठामा गए ।

फेलोसिपको पहिलो वर्ष यस्तै कुराले समाप्त भयो ,दोस्रो वर्षमा पनि त्यही आमाको कुराको घाउँहरु आलै थिए । अझै उहाँको निचोड यो थियो कि बाहुन र क्षेत्रीको छोराछोरीले मात्र राम्रो पढ्छन् र बानीब्यहोरा पनि राम्रो हुन्छन् । यही कुरा मैले फेरि अर्को मान्छेको मुखबाट सुने “ यो चौधरी , दलितको छोराछोरीको लागि किन दुःख गर्नुहुन्छ ? यिनीहरूलाई जति पढाएपनि पास हुने हैनन् ”

यसो भनेको सुनिरहदा हामी कस्तो भ्रम पालेर बाँचेका छौ जस्तो लाग्यो । सुरुमै प्रश्न गर्न चाहे मैले । हामीले हाम्रो बालबच्चालाई कस्तो शिक्षा दिएका छौ ? आज भन्दा कयौ वर्ष अगाडि लेखिएको रामायणको पनि अलिअलि ज्ञान लिएको छु , परियार , विक , सुनार जातिहरू शुद्रमा पर्दछन् यसको मतलब यो हो की उनीहरूलाई हाम्रो भान्साकोठा , मठमन्दिरमा छुन नदिऔं , यसको मतलब सुरुसुरुमा यी जातिका मान्छेहरू सरसफाइमा त्यति ध्यान दिँदैनथे , सरसफाइमा ध्यान दिएर सुधार भएर आउन भनेर मौका दिएको हो जस्तो मलाई लाग्दछ ।

यसरी एक्काइसौ शताब्दीको पाइला चाल्दा पनि तीनै जातमा संलग्न भएको कलिलो दिमागको बालबच्चालाई आफूलाई जे मन लाग्यो , जसरी मन लाग्यो त्यसरी मापन गर्ने हो भने समावेशी शिक्षाको अर्थ केवल किताबमा मात्र सीमित नहोला भन्न सकिन्न । यस्तै गलत सोचाईहरुको घनत्वलाई डुबाउने राम्रो उदाहरण पाएको छु मैले ।

केही समय व्यक्तिगत स्कूलमा अध्ययनपश्चात सरकारी स्कुलमा अध्यनरत गरिरहेका छन् । विक भएर पनि सही ठाँउ र परिवारको राम्रो शिक्षाले गर्दा तिनीबाट हुर्केको बालबच्चाको उज्ज्वल भविष्य देखेको छु मैले । स्कूलबाट निस्कने बित्तिकै घरको ढोका आमा , बुबा , हजुरआमा, हजुरबुबाको पर्याप्त मात्रामा रेखदेख । मैले पढ्नुपर्छ र केही गर्नु पर्छ भन्ने ती कलिला मस्तिष्कमा आएका चाहना छर्लङ्ग देखिने चेहरा ।

लगभग १ वर्ष जति पढाए , पढाउने क्रममा उनको घरमा भएको सम्पूर्ण परिवारका सदस्यसँग नजिक रहेर काम गर्ने मौका पाएँ मैले । त्यो परिवारको व्यवहार देख्दा महाकवि देवकोटाको मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने ।

तीनै जुन समाजको नजरले केही नजान्ने र व्यवहार नराम्रो भन्ने बहिनीहरूले मसँग सधै राम्रो व्यवहार गर्थे । अरूलाई पनि गर्ने व्यवहार , बोल्ने शैली , सहयोगी भावना , ठूलालाई गर्ने आदर, सानालाई गर्ने माया देखेर म प्रभावित थिए ।

पढाइमा पनि त्यत्तिकै मेहनती र लगनशिल देखिन्थे । घरपरिवारसँग नजिक भएको कारण एउटा परिवारले आफ्नो बालबच्चाको लागि गर्नुपर्ने सम्पूर्ण कर्तव्य निभाएको म प्रष्ट सँग देख्थे ।

पठनपाठनको लागि सामग्रीको सहजीकरण देखि , मनोरञ्जनात्मक अनुभूति दिलाउन परिवारका सबै सक्रिय देखिन्थे । यदि हामी अभिभावकले दिने संस्कृति बलियो भयो भने त्यो बच्चालाई अरु सिकाईको धेरै जरूरत पर्दैन जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस